काठमाडौं– सर्वसम्मत नेतृत्व चयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो दुई दिनयता आफूनिकट नेताहरुसँग परामर्श गरिरहेका छन्। परामर्शको क्रममा सबभन्दा चर्को दौडधुप ओलीका सम्भावित उत्तराधिकारी अर्थात् महासचिव बन्ने र बनाउनेमा देखिएको छ। यो दौडधुप यति चर्को बनेको छ नि ओली समूहकै महासचिवका दुई दाबेदार विष्णु पौडेल र शंकर पोखरेललाई लिएर अब त्यहाँभित्र ‘उपगुट’ सिर्जना हुने अवस्था बनेको एमाले स्रोतले जनाएको छ।
अध्यक्ष ओलीले आफ्नो सम्भावित उत्तराधिकारी अर्थात् महासचिव कसलाई बनाउने भनेर मुख खोलिनसकेको अवस्थामा पौडेल र पोखरेलका पक्षमा अन्य नेताहरुले भने घुमाउरो रुपमा आफ्नो मत जाहेर गर्न थालेका छन्।
वरिष्ठ उपाध्यक्षको समेत दाबी गरिरहेका सुवास नेम्वाङलगायतको समूहले महासचिव पौडेललाई बनाउनुपर्ने भन्दै ‘लबिइङ’ सुरु गरेको छ। पार्टी भित्रको अन्तरसंघर्षमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरु पनि पौडेल नै महासचिव हुँदा सहज हुने कोणबाट चर्चा गर्न थालेका छन्।
पार्टीलाई एकीकृत ढंगले अघि बढाउन उनको ‘समन्वयकारी’ भूमिका जरुरी रहेको कोणबाट उनका पक्षमा एउटा समूह माहोल बनाउन सक्रिय भएको छ। यदि नेतृत्वका लागि निर्वाचन नै हुने अवस्था आयो भने एमालेमा समन्वयकारीको छबि बनाएका दुई नेतासहितको ‘नेम्वाङ–पौडेल गठबन्धन’ मैदानमा उत्रिन सक्ने एमाले नेताहरु बताउन थालेका छन्।
ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारसमेत रहेका विष्णु रिमालको समूह भने शंकर पोखरेलका पक्षमा लागेको छ। पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबाद (जबज)का व्याख्याता समेत रहेकाले उनलाई महासचिव बनाउँदा पार्टीले सही दिशा समात्ने भन्दै यो समूहले अध्यक्ष ओलीलाई दबाब दिइरहेको छ। निर्वाचन नै हुने अवस्था आयो भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेल र शंकर पोखरेल मिलेको ‘पोखरेल गठबन्धन’ मैदानमा उत्रिने सम्भावना छ।
शंकर पोखरेल
पछिल्लो समय शंकर पोखरेललाई अध्यक्ष ओलीले सँगै हिँडाइरहेका छन्। पछिल्ला केही दिनमा ओली प्रमुख अतिथि भएका प्रायः कार्यक्रममा पोखरेल पनि वक्ताका रुपमा देखिइरहेका छन्। अध्यक्ष ओलीको मात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि पोखरेलप्रति सद्भाव रहेको बताइन्छ।
पोखरेल एमालेको नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। दुई जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल पहिलो र दोस्रो हुँदा पोखरेल तेस्रो भएका थिए।
महाधिवेशनमा पराजित हुनु र लुम्बिनी प्रदेशको सांसद/मुख्यमन्त्री हुनुले उनलाई केन्द्रीय राजनीतिबाट ओझेलमा पर्ने आकलन गरिएको थियो। तर, प्रदेशको राजनीतिक खिचातानीमा खुम्चिन उनले सधैं अस्वीकार गरिरहे। तत्कालीन नेकपादेखि अहिलेको एमालेमा देखिएका आन्तरिक विवाद मिलाउन उनी लुम्बिनीबाट तत्काल काठमाडौं आइपुग्थे। उनको सक्रियता सधैं पार्टीको केन्द्रमा रहन्थ्यो, रहिरह्यो। सामाजिक सञ्जालमा उनले अभिव्यक्त गर्ने धारणाले पनि उनको दिमागमा हरबखत संघ र पार्टी केन्द्रको राजनीति नै रहने गरेको देखिन्छ।
बीचका केही वर्ष औपचारिक भूमिकाको सन्दर्भमा केन्द्रीय राजनीतिबाट टाढिनुपरेको क्षतिपूर्ति समेत पोखरेलले महासचिवमा बाजी मारेर देखाउन खोजिरहेको उनी निकटस्थहरु बताउँछन्। उनी निकट एक एमाले नेताको दाबी छ, ‘ओली पक्षका विचारकका रुपमा उहाँलाई लिइन्छ। जबजलाई कार्यक्रममा सीमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेर उहाँले अनेरास्ववियुको अध्यक्ष हुँदा नै भन्नुभएको थियो। त्यहीबेला मदन भण्डारीले समेत उहाँलाई सम्भावना भएको नेता भन्नुभएको थियो।’
एमालेको छैटौं महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो। त्यसले पोखरेललाई अझ प्रभावशाली बनायो। सातौं महाधिवेशनमा उनले अघि सारेको संविधानसभामा जानुपर्ने विचारले उनलाई चर्चित बनाएको थियो। पछि एमाले संविधानसभा स्वीकार्ने ठाउँमा पुगेपछि उनको ‘दूरदर्शिता’को प्रशंसा भयो।
ओलीले विश्वास गरेर स्कुल विभाग उपप्रमुखसमेत बनाPपछि पोखरेलले एमालेमा कमजोर बन्दै गएको विचारमा धार लगाउन आफ्नो दाबीलाई बलियोसँग प्रस्तुत गर्ने निकटस्थहरु बताउँछन्। सधैं ओलीको साथमा रहेका पोखरेललाई ‘उत्तराधिकार’ दाबी गर्न समेत सजिलो छ।
एमालेभित्रको राजनीतिमा आफ्नो भूमिकालाई निर्णायक बनाउँदै आएकी राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पनि पोखरेलका निम्ति सहयोगी बन्न सक्छिन्। किनकि, पोखरेलको राजनीतिक उदयदेखि नै उनलाई भण्डारीप्रति निकट नेताको रुपमा चिनिन्छ। अर्कोतिर, भण्डारीले अपनत्व महसुस गर्ने जबजप्रति पोखरेल जत्तिको प्रतिबद्ध नेता अरु छैनन्।
विष्णु पौडेल
एमालेको नवौं महाधिवेशनमा ओलीको प्यानलबाट विष्णु पौडेल उपमहासचिव पदमा विजयी भएका हुन्। पछि एमाले र माओवादी केन्द्रबीच एकता भयो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नरुचाएका ईश्वर पोखरेलको ठाउँमा महासचिवको खोजी भयो। ओली गुटबाट पार्टीमा उपमहासचिव जितेका पौडेल ओली र प्रचण्ड दुवैको आँखामा परे। बोलेर कहिल्यै कसैलाई नबिझाएका मात्रै होइन, समन्वयकारी भूमिकाका लागि अब्बल मानिने पौडेल नेकपाको महासचिव बनाइए। सचिवालय सदस्य भए। त्यस सन्दर्भमा उनले पार्टीका उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतलाई पछि पारिदिए। पार्टीका अध्यक्ष ओलीनिकट नेताहरुलाई पनि उछिने। त्यतिबेलै उनलाई नेकपाको अर्को पुस्ताको नेतृत्वको रुपमा चर्चा गरिएको थियो। नेकपा त रहेन, तर ‘नयाँ’ एमालेमा उनले त्यो चर्चालाई पुष्टि गर्न सक्छन्।
नेकपामा पाएको अवसरले उनलाई पार्टीको महासचिवको रुपमा स्थापित गरिदिएको छ। त्यो पदमा उनको परीक्षण भइसकेको छ। त्यसैले एमालेमा पनि महासचिवको जिम्मेवारी पाउन र भूमिका निर्वाह गर्न उनी सक्षम छन् भन्ने कार्यकर्तामा स्थापित भइसकेको छ।
पार्टी कामका लागि दिनरात खट्न सक्ने क्षमता उनीसँग छ। जुन महासचिव पदका लागि आवश्यक पूर्वसर्त पनि हो। चाँडै विश्वासपात्र हुन सक्ने उनको स्वभावले नै ओलीलाई लामो समयदेखि साथ दिएका अन्य नेतालाई उछिनेर उनी निकटस्थ बन्ने पुगेका हुन्।
शक्ति कतातिर ‘सिफ्ट’ हुँदैछ भन्ने कुराको हिसाबकिताब पनि पौडेलले राम्रोसँग राख्न सक्छन्। आठौं महाधिवेशनअघि उनी माधव नेपाल पक्षमा थिए। आठौं महाधिवेशनबाट उनले शक्ति ओलीतर्फ ‘सिफ्ट’ हुँदै गएको महशुस गरे। खुलेर ओली पक्षमा लागेनन् तर, सचिव जित्दा उनी दुवै पक्षको सूचीमा रहेको चर्चा हुने गरेको छ।
नवौं महाधिवेशनमा आइपुग्दा उनी ओलीसँग निकट भइसकेका थिए। दशौंमा ओलीको उत्तराधिकारीका रुपमा केही महिनादेखि मात्रै छुटेको महासचिव पद फेरि हत्याउन चाहन्छन्। एमालेमै रहेका तत्कालीन नेपाल पक्षलाई समेत समेटेर लैजान सक्ने खुबी उनीसँग छ।
यस शृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।