यो विषयमा लेख्ने कि नलेख्ने भन्ने द्विविधामै धेरै समय बित्यो। आजभोलि लेख्नु आफैँमा जोखिमपूर्ण काम जस्तो भइसकेको छ। सत्य बोल्नु अब साहस होइन, अपराध ठानिन थालेको छ। समाज यस्तो मोडमा पुगेको छ जहाँ “सूर्य पूर्वबाट उदाउँछ” भने पनि “ठ्याक्कै पूर्व होइन होला” भन्ने जमात तुरुन्त तयार हुन्छ। तर यस्तै समयमा नलेख्नु नै सबैभन्दा ठूलो पलायन हो। त्यसैले यो लेख आवश्यक छ।
२३ र २४ गतेको जनआन्दोलनको बहस २३ सही कि २४ सही भन्ने बिन्दुमा अल्झिनु आजको समस्या होइन। त्यो इतिहासको विषय हो। आजको प्रश्न आन्दोलनपछि के भयो भन्ने हो। के समाज बदलियो? के नागरिक चेतनामा गुणात्मक परिवर्तन आयो? के हामी जिम्मेवार भएर अघि बढ्यौँ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्दा निराशा बाहेक केही हात लाग्दैन।
मेरो निष्कर्ष स्पष्ट छ। २३ र २४ पछि समाज सुध्रिनुको साटो झनै गहिरो ध्रुवीकरणतर्फ गयो। आन्दोलनको उपलब्धि संस्थागत गर्ने सट्टा, हामी त्यसको श्रेय कसले लिने भन्ने होडमा लाग्यौँ। आन्दोलन सकिएलगत्तै जिम्मेवारी लिने होड त सुरु भयो, तर जिम्मेवारी बहन गर्ने इच्छाशक्ति कतै देखिएन। ठूला आदर्शका कुरा गर्नेहरू साना स्वार्थमा सीमित भए। एउटै उद्देश्यका लागि सडकमा उत्रिएका मानिसहरू आन्दोलनपछि छुट्टाछुट्टै च्याटिङ ग्रुप बनाएर आ–आफ्नो शक्ति गणना गर्न थाले।
त्यो बेला लाग्थ्यो, अब केही त बदलिन्छ। अब संस्थागत सुधारको बाटो खुल्छ। तर वास्तविकता उल्टो भयो। आन्दोलन साधन थियो, तर त्यसलाई नै लक्ष्य बनाइयो। परिणामस्वरूप आन्दोलनपछि पनि पुरानै सोच, पुरानै व्यवहार र पुरानै राजनीति फर्कियो।
अब राजनीतिक दलहरूको भूमिकातर्फ फर्कौँ।
नेपाली कांग्रेस, जसले देशका ठूला राजनीतिक परिवर्तनको नेतृत्व गर्यो, आज निर्णयहीनताको स्थायी चक्रमा फसेको छ। पार्टीभित्र नेतृत्वको स्पष्टता छैन, नीति भन्दा व्यक्तिको प्रभाव हाबी छ। हालै उपसभापतिलाई नाम मात्रको कार्यवाहक दिएर पार्टी सुधार होइन, थप आन्तरिक द्वन्द्वतर्फ धकेलिएको सन्देश गएको छ। संसदमा ठूलो दल भएर पनि सधैँ अरूलाई सरकार चलाउन दिनु कांग्रेसको नियति बनेको छ। यदि निर्वाचनअघि नेतृत्व र संरचनामा ठोस सुधार आएन भने, यो पार्टी आफैँभित्र गल्दै जाने निश्चित देखिन्छ।
नेकपा एमालेको अवस्था झनै विडम्बनापूर्ण छ। प्रधानमन्त्री कार्यालयबाट हेलिकोप्टर चढेर बाहिरिएका पात्र आज फेरि कठोर भाषण गर्दै हिँडिरहेका छन्। कम्युनिस्ट पार्टी भएर पनि लोकतान्त्रिक आवरणमा व्यक्तिकेन्द्रित राजनीति गर्नु एमालेको स्थायी चरित्र बनिसकेको छ। लोकतन्त्रको कुरा गर्ने तर पार्टीभित्र आलोचना सहन नसक्ने संस्कारले एमालेको भविष्यलाई पनि गम्भीर प्रश्नमा राखेको छ। यसको अन्तिम फैसला चुनावमा जनताले नै गर्नेछन्।
प्रचण्ड पथ अब कुनै राजनीतिक विचार होइन, अवसरवादको अर्को नाम बनेको छ। जहाँ फाइदा, त्यहीँ मोर्चा। माओवादी आन्दोलनले उठाएका वर्गसंघर्ष, समावेशिता र परिवर्तनका एजेन्डा आज भाषणका अलंकार मात्र बनेका छन्। कम्युनिस्टहरू आफैँ लडेर सकिन्छन् भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन, प्रचण्ड नेतृत्वको वर्तमान अवस्था नै पर्याप्त छ।
रास्वपाको उदयले केही आशा जगाएको थियो। “केही गर्छु” भन्ने आत्मविश्वाससहित आएको यो दलले पुरानो राजनीतिलाई चुनौती दिन्छ भन्ने अपेक्षा थियो। तर पार्टी सभापतिमाथि उठेका गम्भीर प्रश्न र अन्धभक्तहरूको अराजक समर्थनले त्यो आशामा दरार पारेको छ। के रास्वपामा सभापतिबाहेक अरू कोही छैनन्? आज यो पार्टीले पनि चुनावमा धेरै प्रश्नको जवाफ दिनैपर्ने अवस्थामा पुगेको छ।
मेयरसाबको “दिनभर फोन अन गरेर बसेको भए म नै प्रधानमन्त्री हुन्थेँ” भन्ने अभिव्यक्तिले गम्भीर राजनीतिक विमर्शलाई मजाकमा झारेको छ। फोन कहिले अफ हुन्छ, कहिले अन, त्यो समयले देखाउनेछ। केही सुधारसहित अघि बढे अझै पनि सीमित आशा बाँकी छ।
जेन–जीको अवस्था झनै चिन्ताजनक छ। दिशाहीन ऊर्जा, सामाजिक सञ्जालमै सीमित सक्रियता र वास्तविक मुद्दाबाट विमुखता। पशुपति जान निस्केका युवाहरू चाँगुनारायण पुगिसकेका छन्। आवाज छ, हल्ला छ, तर गन्तव्य छैन। एक शब्दमा भन्नुपर्दा, जेन–जीको राजनीतिक चेतना र बागलुङतिरका थापाको संगीतप्रतिको बुझाइ उस्तै–उस्तै देखिन थालेको छ।
उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्छ। नआए स्वार्थ छ भन्ने कुरा अब लुकाउने विषय रहेन। बच्चाले पनि बुझ्ने स्तरमा यो स्पष्ट भइसकेको छ।
अब प्रश्न उठ्छ — के यो सबै गुनासो मात्र हो? समाधान के हो?
समाधान स्पष्ट छ। सीमित समयका लागि सर्वदलीय सरकार गठन गरिनुपर्छ, जसको उद्देश्य सत्ता टिकाउने होइन, संस्थागत सुधार गर्ने हो। निर्वाचन प्रणाली, प्रशासनिक संरचना, न्यायिक स्वतन्त्रता र दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ पार्नु प्राथमिकता हुनुपर्छ। ती आधार तयार नगरी फेरि चुनावमा जानु भनेको उही पुरानो समस्या नयाँ मितिमा दोहोर्याउनु मात्र हो।
हतार, दबाब र भावनाले राजनीति चल्दैन। जबसम्म राजनीतिक दलहरूले आफ्नो आचरण सुधार्दैनन्, जबसम्म नागरिकले प्रश्न सोध्ने संस्कार विकास गर्दैनन्, तबसम्म समाज बदलिएको अनुभूति हुँदैन।
आन्दोलन भयो। सत्ता फेरियो। अनुहार बदलिए।
तर सोच, संस्कार र जिम्मेवारी बदलिएनन्।
यही कारण हो — यो न बदलिएको समाज।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।