इलाम– नेपाली चिया उद्योग अभूतपूर्व संकटको सामना गरिरहेको भन्दै Tea Alliance of Nepal (TAN) मा आबद्ध १६ वटा उद्योगले असार ४ गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन्।
भारतीय बजारमा हाल लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि उद्योगहरूमा उत्पादित चिया थन्किने क्रम बढेको छ। उद्योगीहरूका अनुसार निर्यात प्रक्रिया जटिल बन्दा बिक्री प्रभावित भएको छ भने उत्पादन जारी राख्न आवश्यक कार्यशील पूँजी व्यवस्थापन गर्न समेत कठिन भइरहेको छ।
चिया उद्योगहरूमा तयार चिया मौज्दात बढ्दै जाँदा किसानबाट हरियो पत्ती खरिद गर्ने क्षमता घट्दै गएको उद्योगीहरूको भनाइ छ। यसको असर प्रत्यक्ष रूपमा हजारौं चिया किसान र श्रमिकहरूमा पर्न थालेको बताइएको छ।
Tea Alliance of Nepal ले जारी गरेको विज्ञप्तिमा वर्तमान संकट उद्योगीहरूको मात्र समस्या नभई सम्पूर्ण चिया क्षेत्रको साझा चुनौती भएको उल्लेख गरिएको छ। उद्योग सञ्चालनमा आएको दबाबका कारण किसानको उत्पादन, श्रमिकको रोजगारी र ग्रामीण अर्थतन्त्र नै प्रभावित हुने जोखिम बढेको संस्थाको भनाइ छ।
TAN ले गुणस्तर परीक्षण र खाद्य सुरक्षालाई समर्थन गरे पनि व्यापारिक गतिविधिलाई अवरुद्ध गर्ने गरी लागू गरिएका प्रक्रियाहरू पुनरावलोकन हुनुपर्ने धारणा राखेको छ। संस्थाले नेपाल सरकारलाई कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न तथा नेपाली चियाका लागि नयाँ र दिगो अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष ध्यान दिन आग्रह गरेको छ।
संस्थाले युरोप, अमेरिका, चीन, जापान, दक्षिण कोरिया तथा मध्यपूर्वका सम्भावित बजारहरूमा नेपाली चियाको पहुँच विस्तार गर्न राष्ट्रिय रणनीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। एक मात्र बजारमा अत्यधिक निर्भरता हुँदा यस्ता संकट बारम्बार दोहोरिन सक्ने TAN को निष्कर्ष छ।
समयमै समाधानको पहल नभए असार ४ गतेदेखि TAN मा आबद्ध १६ उद्योगले उत्पादन तथा प्रशोधन कार्य बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्। उद्योग बन्द भएमा हजारौं किसानको आयआर्जन, श्रमिकको रोजगारी र चिया क्षेत्रको समग्र आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने उद्योगीहरूको भनाइ छ।
-1781524865.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।