काठमाडौं - रौतहटमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई जना किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्लाको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर आज दिउँसो अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा यमुनामाई नगरपालिका–५, जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा रौतहटको यमुनामाई नगरपालिका–५, झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला, भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्।
घाइते आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।