काठमाडौँ– कैलालीमा महिलाको टेम्पो भीरबाट खसालेको घटनामा प्रहरीले वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
११ कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाप्रति व्यापक विरोध भइरहँदा
डिभिजन वन कार्यालय धनगढीले भने सामाजिक सञ्जालमा प्रचार भएजस्तो कर्मचारीहरूले बल प्रयोग गरेर टेम्पो भीरबाट नखसालेको दाबी गरेको छ।
कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा मार्फत कर्मचारीहरूले जबर्जस्ती भीरबाट मिल्काएको भन्ने दाबी तथ्यहीन रहेको जनाएको हो। डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहराले प्रचारमा आयजस्तो कर्मचारीबाट नियोजित रूपमा बल प्रयोग नगरिएको दाबी गरे।
यता टेम्पो धनी कैलालीको गोदावरी नगरपालिका-४ बासपानी निवासी धनादेवी धामीले भने वन कार्यालयका कर्मचारीहरूले बल प्रयोग गरेर आफ्नो टेम्पो भीरबाट खसालेको आरोप लगाएकी छिन्। धामीले कानूनी प्रक्रिया पूरा नगरी आफ्नो रोजीरोटीको साधन नष्ट गरिएको भन्दै राज्यका निकायको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएकी छिन्।
धनादेवीले घटनाबाट आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको दुखेसो गरिन्।
यो घटनामा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक अध्ययन र छानबिन गर्ने जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।