काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई आजै पुनर्बहाली गर्ने गरी आदेश दिन वरिष्ठ अधिवक्ताहरूले जोडबल गरेका छन्।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका कार्कीको रिटमाथिको सुनुवाइका क्रममा बुधबार उनीहरूले यस्तो जोडबल गरेका हुन्।
२० कात्तिकमा रिट निवेदन दर्ता भएको थियो।
प्रारम्भिक सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, मानव बस्नेत, बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी, टीकाबहादुर कुँवरलगायतले बहस गरेका थिए।
उनीहरूले कार्कीलाई आजैदेखि काम गर्ने गरी अन्तरिम आदेश दिन माग गरेका छन्। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।
अधिवक्ताहरूले तत्कालीन आईजीपी अच्युतकृष्ण खरेल र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नजिर पेस गर्दै कार्कीलाई न्याय गर्न माग गरेका हुन्।
मन्त्रिपरिषद्ले १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको र त्यसबाट आफू अन्यायमा परेको दाबी गर्दै रिट निवेदन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।