काठमाडौं। युक्रेनले रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपलाई रुसी भूभागसँग जोड्ने रणनीतिक महत्त्वको केर्च पुलमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उक्त कारबाहीलाई अभूतपूर्व भन्दै पुलको सडक खण्डमा ठूलो क्षति पुगेको दाबी गरेका छन्।
जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले कैयौँ सातादेखि रुसी हवाई प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने अभियान सञ्चालन गरेपछि सोमबार राति पुलमा निर्णायक आक्रमण गरेको हो।
युक्रेनी सेनाको जनरल स्टाफले पुलको सडक खण्डको एउटा आर्च र स्प्यान भत्किएको जनाएको छ। त्यसका कारण सडक यातायात अवरुद्ध भएको छ। रेलमार्ग भने सञ्चालनमा रहेको तर त्यसको एउटा आर्चमा क्षति पुगेको जनाइएको छ।
रुसको प्रमुख अनुसन्धान निकाय इन्भेस्टिगेटिभ कमिटीले पनि पुलमा ड्रोन आक्रमण भएको र क्षति पुगेको पुष्टि गरेको छ। तर क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
जेलेन्स्कीका अनुसार पुलमाथिको आक्रमण सात चरणमा सञ्चालन गरिएको थियो। त्यसक्रममा युक्रेनी सेनाले सुरुमा रुसी प्रतिरक्षा प्रणाली, राडार र विद्युतीय युद्ध उपकरणलाई निशाना बनाएको थियो। त्यसपछि लामो दूरीका ड्रोन, नेप्च्युन क्षेप्यास्त्र र अन्य ड्रोनबाट पुलको सडक तथा रेल खण्डमा आक्रमण गरिएको उनले बताए।
उनका अनुसार अन्तिम प्रहार प्रेसिजन गाइडेड फ्लेमिङ्गो क्षेप्यास्त्रबाट गरिएको थियो।
युक्रेनी राष्ट्रपति र सेनाले आक्रमण तथा त्यसपछिको क्षतिको दृश्य सार्वजनिक गरेका छन्। तर एसोसिएटेड प्रेसले ती दृश्यको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
रुसले नियुक्त गरेको क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले पुलमा यातायात बन्द गरिएको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार दिउँसोसम्म रेल सेवा भने पुनः सञ्चालनमा आएको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुल पुनर्निर्माण गरिने बताएका छन्। उनले पुल पहिलेभन्दा अझ राम्रो बनाइने दाबी गरेका छन्।
सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको केर्च पुल रुसी नियन्त्रणको प्रतीकका रूपमा रहेको छ। यो पुल रुसबाट क्रिमियामा सैनिक तथा नागरिक सामग्री पुर्याउने प्रमुख मार्ग हो। युक्रेनले पुललाई आफ्नो भूभागमाथिको रुसी कब्जाको प्रतीक मान्दै आएको छ।
युक्रेनी सेनाको जनरल स्टाफले विज्ञप्तिमा भनेको छ, ‘कब्जाको प्रतीक चर्किएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।