काठमाडौं — नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्न थालेपछि लगानीकर्तामा अन्योल देखिएको छ। केही दिनअघि एकैदिन प्रतितोला साढे १२ हजार रुपैयाँले घटेको सुनको मूल्य मंगलबार थप करिब दुई हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।
तिहारपछि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, अमेरिकी नीतिगत निर्णय र सेयर बजारमा आएको सुधारले सुनको मूल्यमा दबाब परेको उनको विश्लेषण छ।
सुरक्षित लगानीको माध्यम मानिँदै आएको सुनको मूल्यमा आएको गिरावटले अहिले लगानी गर्ने कि नगर्ने भन्ने प्रश्नसमेत उठाएको छ। व्यवसायीहरूले एकैपटक ठूलो रकम लगानी नगरी किस्ताबन्दीमा सुन किन्न सुझाव दिएका छन्। तर नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भने अहिलेको अनिश्चित आर्थिक परिस्थितिमा सामान्य लगानीकर्ताका लागि सुनभन्दा बैंक निक्षेप सुरक्षित विकल्प हुन सक्ने बताउँछन्।
अन्तर्राष्ट्रिय घटनाक्रमले सुनको मूल्य प्रभावित
सुनको मूल्य आगामी दिनमा कस्तो हुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय अर्थतन्त्र र ठूला मुलुकका नीतिमा निर्भर रहने जानकारहरूको भनाइ छ। विशेषगरी अमेरिका र अन्य प्रमुख अर्थतन्त्र भएका देशका नीतिगत निर्णय तथा केन्द्रीय बैंकहरूको सुन सञ्चितिसम्बन्धी दृष्टिकोणले मूल्य निर्धारणमा प्रभाव पार्ने थापाको विश्लेषण छ।
मुद्रास्फीति, विदेशी मुद्राको विनिमय दर, ब्याजदर र विश्व बजारमा सुनको मागले पनि मूल्यमा उतारचढाव ल्याउने गर्छ।
अमेरिकी मध्यावधि निर्वाचनमा सत्तारूढ रिपब्लिकन पार्टीले धक्का बेहोरेपछि डेमोक्र्याटिक पार्टीको प्रदर्शनले पनि विश्व बजारमा प्रभाव पारेको व्यवसायी शाक्यको भनाइ छ। निर्वाचनपछि अमेरिकी सेयर बजारमा देखिएको सुधारले सुनको मूल्यमा दबाब सिर्जना गरेको उनको विश्लेषण छ।
'अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले राम्रो नतिजा ल्याएपछि सेयर बजार उकालो लाग्यो। सेयरको मूल्य बढ्दा सुनको मूल्य घट्ने प्रवृत्ति हुन्छ,' शाक्यले भने।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा आगामी तीनदेखि चार महिनासम्म सुनको मूल्य उल्लेख्य रूपमा बढ्न नसक्ने चर्चा सुरु भएको छ।
'तत्काल सुनको भाउ बढ्ने सम्भावना कम देखिन्छ। यद्यपि यकिनका साथ यही हुन्छ भन्न सकिँदैन। अहिलेको अवस्था तीन–चार महिनासम्म लम्बिन सक्छ,' उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लिने नीतिले पनि सुनको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने शाक्यको भनाइ छ।
पूर्वकार्यकारी निर्देशक थापाका अनुसार सुनको मूल्यलाई एउटै घटनाले मात्रै निर्धारण गर्दैन। विश्व अर्थतन्त्रको अवस्था, विदेशी मुद्राको विनिमय दर, ब्याजदर, मुद्रास्फीति र प्रमुख केन्द्रीय बैंकहरूको सुन सञ्चितिसम्बन्धी नीतिले मूल्य प्रभावित हुन्छ।
'विश्व बजार र विश्व अर्थतन्त्र कस्तो हुन्छ, त्यसमा सुनको मूल्य निर्भर गर्छ। विदेशी मुद्राको विनिमय दर, ब्याजदर, मुद्रास्फीति र सुन सञ्चितिप्रति प्रमुख केन्द्रीय बैंकहरूको दृष्टिकोणले पनि मूल्य निर्धारण गर्छ,' उनले भने।
इरान युद्धको अवस्था र रुस–युक्रेन युद्ध अन्त्य गराउने प्रयासले पनि अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने थापाको भनाइ छ। हालसम्म इरान युद्ध अन्त्य भएको घोषणा भएको छैन भने रुस र युक्रेनबीचको युद्ध रोक्ने अमेरिकी प्रयासले पनि ठोस सफलता पाउन सकेको छैन।
साना लगानीकर्ताले कसरी गर्ने लगानी ?
सुनको मूल्य घटिरहेका बेला लगानी गर्ने निर्णय गर्दा लगानीको उद्देश्य र क्षमतालाई ध्यान दिनुपर्ने व्यवसायी शाक्य बताउँछन्। उनका अनुसार सुनमा लगानी गर्न चाहने सामान्य मानिसले एकैपटक ठूलो रकम खर्च गर्नुभन्दा थोरै–थोरै गरेर किन्नु उपयुक्त हुन्छ।
'एक लाख रुपैयाँ सुनमा लगानी गर्ने सोच छ भने २५–२५ हजार रुपैयाँका दरले चार पटक लगानी गर्न सकिन्छ। यसरी किन्दा मूल्य घटबढ हुँदा धेरै फाइदा वा धेरै घाटा हुने सम्भावना कम हुन्छ,' उनले भने।
शाक्यका अनुसार सुनमा लगानी गर्दा अल्पकालीनभन्दा दीर्घकालीन सोच राख्नुपर्छ। मूल्य घट्नेबित्तिकै एकैपटक ठूलो परिमाणमा सुन खरिद गर्नु उपयुक्त नहुने उनको सुझाव छ।
तर पूर्वकार्यकारी निर्देशक थापा भने सामान्य लगानीकर्ता र घरपरिवारका लागि अहिले सुनमा लगानी गर्ने उपयुक्त समय नभएको बताउँछन्।
विश्व अर्थतन्त्र अनिश्चितताको अवस्थामा रहेकाले सुनको मूल्य कता जान्छ भन्ने यकिन गर्न नसकिने उनको भनाइ छ। त्यसैले अहिले सुन खरिद गरेर मूल्य बढ्ने प्रतीक्षामा बस्नुभन्दा बैंकमा निक्षेप राख्नु उपयुक्त हुने उनी बताउँछन्।
'सुनमा लगानी गर्न अहिले उचित समय छैन जस्तो मलाई लाग्छ,' थापाले भने।
बैंकहरूले मूल्यवृद्धिको तुलनामा पर्याप्त ब्याज नदिए पनि सामान्य निक्षेपकर्ताका लागि बैंकमा पैसा राख्नु तुलनात्मक रूपमा सुरक्षित हुने उनको तर्क छ।
'बैंकमा राख्दा पैसा सुरक्षित रहन्छ। तर सुनको मूल्यमा गिरावट आउँदा ठूलो नोक्सानी हुन सक्छ। सम्पत्ति बढाउने उद्देश्यले लगानी गर्ने सामान्य लगानीकर्ताका लागि अहिले जोखिम छ,' उनले भने।
ठूला लगानीकर्ताले सम्भावित जोखिम व्यवस्थापन गर्न विभिन्न वैकल्पिक उपाय अपनाउन सक्ने भए पनि सामान्य घरपरिवारसँग त्यस्तो सुविधा नहुने थापाको भनाइ छ। त्यसैले थोरै ब्याज प्राप्त भए पनि बैंक निक्षेपलाई प्राथमिकता दिनु उपयुक्त हुने उनको सुझाव छ।
तिहारमा अनुमानभन्दा बढी सुन बिक्री
सुनको मूल्य घटे पनि यस वर्षको तिहारमा गत वर्षको तुलनामा बिक्री बढेको व्यवसायीहरूले बताएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार यस वर्ष तिहारमा करिब २० किलो सुन बिक्री हुने अनुमान गरिएको थियो। तर बिक्री ३५ किलोभन्दा बढी पुगेको उनको भनाइ छ।
'हामीले अनुमान गरेको भन्दा झन्डै दोब्बर बढी सुन बिक्री भएको छ। यसपालि २० किलो जति अनुमान गरेका थियौँ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।