काठमाडौं - सिन्धुलीमा श्रीमान्ले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–१० डाँडाटोलमा मंगलबार राति सामान्य विवादका क्रममा श्रीमान् मनोज कार्कीले श्रीमती सानु कुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए ।
प्रहरीका अनुसार अन्दाजी ४२ वर्षीय मनोजले ४० वर्षीया श्रीमतीलाई लोहोरोले टाउकोमा प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएकी सानु कुमारीको मृत्यु भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न मनोज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।