काठमाडौं– जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुइँतलाको कोठामा अचेत अवस्थामा फेला परेका हुन् ।
मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि केसी कोठाबाट बाहिर ननिस्किएपछि सहकर्मीले ढोका ढकढक्याएका थिए । भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको अवस्थामा झ्यालको लक तोडेर कोठाभित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए ।
त्यसपछि तत्काल उनलाई जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो । तर, चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए ।
घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
केसीको दाङको घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित दुन्द्राघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।