काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको पूर्वाधार, ऊर्जा, पारवहन र कनेक्टिभिटी विस्तारका दृष्टिले उपलब्धिमूलक बताएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिँदै उनले भारतसँग विभिन्न महत्त्वपूर्ण परियोजना अघि बढाउने सहमति भएको बताए ।
खनालका अनुसार नेपालको पारवहन व्यापारका लागि गुजरातको दीनदयाल बन्दरगाह हुँदै नयाँ मार्ग उपलब्ध गराउने र पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाहमा समेत पहुँच दिने समझदारी भएको छ ।
रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षणलाई अन्तिम रूप दिने, पूर्व–पश्चिम रेलमार्गमा सहकार्य गर्ने, तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तथा पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजनालाई अघि बढाउने सहमति पनि भएको छ ।
भ्रमणका क्रममा सरयू–कमला रेल सेवा, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण र दार्चुला–धार्चुला सीमापार पुल उद्घाटन गरिएको छ । झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास, सीमापार प्रसारण लाइन तथा एकीकृत जाँच चौकी निर्माण र काठमाडौं–भैरहवा–लखनउ हवाई सेवा विस्तारमा पनि प्रगति भएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।