विभाजनपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गर्न लागेको १०औं राष्ट्रिय महाधिवेशन सम्मुखमै आइपुगेको छ। मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन भनिरहँदा अबको एमाले कस्तो होला, अनि विभाजनका बेला फाटेको मन टालिइनसक्दै पदाधिकारी र केन्द्रीय कमिटीमा नेताहरुको व्यवस्थापन कसरी होला भन्ने चासो एमालेभित्र मात्र होइन, बाहिर पनि देखिन्छ। एमाले पार्टीको इतिहासमा पहिलोपटक यो पार्टी निर्माणमा प्रत्यक्ष संलग्न माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरु सहभागी हुने छैनन्। एमाले विभाजनपछि उनीहरुले छुट्टै पार्टी, नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन्। एमालेले उनीहरुलाई महाधिवेशन उद्घाटनमासमेत नबोलाउने निर्णय गरिसकेको छ। एमालेको १०औं महाधिवेशनमा केन्द्रित रहेर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः
एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। यो कुन अर्थमा एकताको महाधिवेशन हो?
नेकपा एमाले यसबीचमा फुटबाट गुज्रियो। पार्टीमा फुटको असर पर्यो। अरु पार्टीबाट पनि एमालेमा थुप्रै नेता र कार्यकर्ता आउनुभएको छ। त्यसरी आएका साथीहरुको केही व्यवस्थापन भएको छ भने व्यवस्थापनको धेरै काम महाधिवेशनबाट गर्नुपर्नेछ। सबैलाई समेटेर लैजाने कुरालाई ध्यानमा राखेर नै हामीले एकताको महाधिवेशन भनेका हौं। एमालेमा आइसकेपछि म फलानो पार्टीबाट आएँ भन्ने कुरा रहेन। अब एमालेले यो महाधिवेशनलाई एक मनका साथ कसरी अघि बढाउने, विचार, विधियुक्त र सक्षम कसरी बनाउने भनेर काम गर्नुपर्नेछ। त्योसँगै लामो समयदेखि त्याग र काम गरेको नेतृत्व चयन गर्नुपर्छ भन्ने हो।
पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनालविना हुने एमालेको महाधिवेशन कस्तो होला? उहाँहरुसहितको महाधिवेशनको सम्झना होला कि नहोला?
वास्तवमा हामीलेभन्दा पनि यो विषय उहाँहरुले सोच्नुपर्ने थियो। लामो समयदेखि ठक्कर र हण्डर खाँदै, माले हुँदै एमालेको अवस्थामा आइपुग्नुभएको हो। उहाँहरुले दुःख गर्नुभएको छ, त्याग गर्नुभएको छ। अहिले फुट्ने बेला त थिएन नि! मिलेर देश बनाउने समय थियो। सुख, शान्ति र समृद्धि ल्याउने बेला हो। यसरी सुशासन कायम गर्ने बेलामा उहाँहरुले कम्युनिस्ट आन्दोलनलाई कसरी बुझ्नुभयो थाहा भएन। तर, एकदम सहजरुपले एमालेलाई विभाजन गरेर उहाँहरु जानुभयो। सिङ्गो कम्युनिस्ट आन्दोलन एकढिक्का होस्, बलियो होस् र सशक्त होस् भन्ने बेला, कम्युनिस्ट आन्दोलन र एमालेप्रति जनताको जुन विश्वास छ, त्यसलाई अझ बलियो बनाएर एमालेलाई थप सक्षम बनाउनेबारे सोच्ने बेला के स्वार्थले हो खै उहाँहरु पार्टी विभाजन गरेर जानुभयो। हामीले तपाईंहरु गलत बाटोमा जाँदै हुनुहुन्छ भनेर धेरै भन्यौं, नजानुस् भनेर निकै अनुरोध गर्यौं। तर, मान्नुभएन।
पार्टी विभाजन कुनै पनि मानेमा गलत नै हुन्छ। हिजो २०५४ सालमा बामदेव कमरेडले पार्टीलाई विभाजन गरेर गइसकेपछि नोक्सान त भयो नि। अहिले पनि उहाँहरु जानुभयो। अब उहाँहरु फर्केर आउने कुरा त मलाई विश्वास लाग्दैन। परिस्थिति पनि अब सहज छैन। हामीलाई पनि अप्ठ्यारो छ उहाँहरुलाई पनि अप्ठ्यारो छ।
कालान्तरमा मिल्ने आधार पनि देख्नुहुन्न?
मलाई त्यस्तो लाग्दैन। नेपालको कम्युनिस्ट आन्दोलनलाई अध्ययन गरिरहँदा मैले यसलाई बलियो बनाउने, एकताबद्ध बनाउने, मुलुकको नेतृत्व गर्नेगरी सक्षम बनाउनेभन्दा पनि अलिकति बलियो हुनेबित्तिकै भागबण्डा खोजिहाल्ने, समूहबन्दी गरिहाल्ने रोग देखेको छु। यही रोगकै कारण आज कम्युनिस्ट पार्टीहरु छिन्नभिन्न र टुक्राटुक्रा भएका छन्। टुक्राटुक्रा बनाएर न कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन सकिन्छ, न आन्दोलनलाई जोगाउन सकिन्छ। देशको रक्षा गर्न सकिन्छ, न विकास र समृद्धिमा जान सकिन्छ। दुःखका साथ भन्नुपर्छ, कम्युनिस्ट आन्दोलनमा आफ्नो पदलाई मात्रै महत्त्व दिने काम भयो। अध्यक्ष चाहिएकालाई अध्यक्ष र महासचिव चाहिएकालाई महासचिव नभइ नहुने भयो। त्यो पद जोगाउन सानो कम्युनिस्ट पार्टीमा रमाएर बस्नेबाहेक अरु देखिएन। यो हाम्रो लागि दुर्भाग्य हो। मिलेर बस्न नसक्ने, फराकिलो सोच राख्न नसक्ने। मलाई भन्नुहुन्छ भने एउटा विशाल कम्युनिस्ट पार्टीको सदस्यमात्र बन्दा पनि गौरव मान्नुपर्छ। पद भनेको दोस्रो कुरा हो।
महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएको छ। यति धेरै नेताहरुको आकांक्षाका बीचमा नेतृत्व सर्वसम्मत कसरी हुन्छ?
यसरी हेर्दा त गाह्रो छ। सर्वसम्मत गर्ने भन्ने विषय नै गाह्रो हो नि। तर, हामीले आफ्नो इच्छाशक्ति र व्यवस्थापनलाई कुशलतापूर्वक वहन गर्न सक्यौं भने सर्वसम्मत सम्भव रहेछ भन्ने त वडा र पालिका तहकै अधिवेशनमा देखिइसकेको छ। छिटफुटबाहेक सबै ठाउँमा सर्वसम्मत भएको छ। प्रतिनिधि चयनमा त्यस्तै भएको छ। आमरुपमा प्रतिनिधि सर्वसम्मत रुपमा आएका छन्। एमाले पार्टीभित्र अब लोकतन्त्र छैन, एकजना नेताले निर्देशन दिनेबित्तिकै खुरुखुरु मान्ने भयो, छलफल र संवाद भएन भनेको पनि सुन्छु। तर, म चाहिँ त्यो मान्दिनँ।
अध्यक्षमा प्रतिस्पर्धा गर्नै नसक्ने भन्ने कुरा हुँदैन। अध्यक्ष, वरिष्ठ उपाध्यक्षदेखि सबै पदमा हुनसक्छ। तर, नेकपा एमालेलाई अहिले एकढिक्का बनाउनु छ। त्यो गरिरहँदा प्रतिस्पर्धा कुन-कुन पदमा गर्दा राम्रो हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ।
तुलनात्मक रुपमा नेकपा एमालेभित्र नै लोकतान्त्रिक हिसाबले छलफल गर्ने परिपाटी हामीले स्थापित गर्दै आइरहेका छौं। जहाँसम्म लोकतन्त्रको सवाल छ, पहिलो कुरा स्वस्थ प्रतिस्पर्धा अस्वस्थ होइन। अहिलेसम्म अस्वस्थ प्रतिस्पर्धा पनि भएको छ। हाम्रै पार्टीभित्र हेर्ने हो भने पनि अस्वस्थ प्रतिस्पर्धा भएको छ। प्यानलगत चुनाव पनि भएको छ। त्यही कारण एमालेमा गुटगत गतिविधि र संकीर्णता बढेको हो। त्यस कारण यो महाधिवेशनले अत्यन्तै स्वस्थरुपले नेतृत्व चयन गर्छ, गर्नुपर्छ।
पदाधिकारीको पद थोरै छ, त्यसका आकांक्षी धेरै हुनुहुन्छ। लामो समयदेखि दुःख गरेका, अनुभवी नेताहरु हुनुहुन्छ। पदको व्यवस्थापन गर्न गाह्रो छ, तर अहिलेको आवश्यकता के भन्ने हो। नेकपा एमालेलाई एकताबद्ध, बलियो र सुदृढ बनाएर मुलुकलाई हाँक्ने कुरालाई मध्यनजर गरेर सबै नेताहरु लाग्नुपर्छ। व्यक्तिगतरुपमा को के हुन्छ भन्ने होइन, पार्टीलाई बलियो कसरी बनाउने भनेर लाग्ने हो। पद भए पनि नभए पनि एमाले पार्टी बलियो बनाउन म त्याग गर्न तयार छु भन्ने स्थितिमा पुग्नुपर्यो। त्यस कारण पदाधिकारीमा राम्रो टिम बनाउन व्यापक छलफल गर्नुपर्छ। मूल नेतृत्वले सबैसँग खुलेर छलफल गर्नुपर्छ। खुलेर विचार र चाहना बुझ्नुपर्छ। यसरी भयो भने व्यवस्थापन गर्न सजिलो हुन्छ। पदाधिकारी सर्वसम्मत रुपमा नै अगाडि बढ्नुपर्छ।
दोस्रो, केन्द्रीय कमिटी निकै ठूलो छ। केन्द्रीय कमिटीमा स्वाभाविक रुपमा भनेको जस्तो हुँदैन। अलिकति मिलाउनुपर्यो, प्रदेशदेखि समावेशीतामा ध्यान दिनुपर्यो। यसरी गरिरहँदा त्यसमा स्वस्थ र मर्यादित हिसाबले निर्वाचनको प्रक्रियामा जान सकिन्छ। यसपालि हामीले भोटिङ मेसिनबाट मतदान गर्दै छौं। त्यसो गरिरहँदा सबै काम सम्पन्न भइसके पनि नेकपा एमाले सगोल छ है, एकढिक्का छ है भन्ने सन्देश दिन सक्नुपर्छ। त्यसका लागि अहिले नै सम्पूर्ण कुरा सबैसँग खुलेर गर्नुपर्छ। कस्तो नतेृत्व निर्माण गर्ने भनेर मापदण्डभित्र छिर्नुपर्यो। त्यसको गृहकार्य अहिले नै गर्नुपर्छ।
पदाधिकारीका विषयमा खुलेर नेताहरुको धारणा बाहिर आउन सकेको छैन। नेतृत्वसँग उहाँहरुको छलफल वा संवाद केही नभएको हो कि?
अलिअलि संवाद र कुराकानी भइरहेको छ। अहिले प्रतिनिधि व्यवस्थापनको कुरादेखि अन्य व्यवस्थापनको काममा लागेका छौं। अबको छलफल भनेको कसरी सर्वसम्मत गर्ने भनेर हुन्छ। यो चाहिँ फेरि अन्तिम घडीमा नै हुन्छ, अहिले नै हुँदैन। हामी प्रस्टरुपमा जान पनि सक्छौं।
तपाईंको दाबेदारी कुन पदका लागि हो? तयारी के गर्नुभएको छ?
मलाई यही पद चाहियो भनेर मैले आज मात्र, कम्युनिस्ट आन्दोलनमा लागेदेखि कहिले मागेको छैन। पार्टीले आवश्यकताअनुसार तपाईं यो जिम्मेवारी लिएर काम गर्नुस् भन्दा नाइँ पनि भनेको छैन। जिम्मेवारी लिएर काम पनि गरेको छु। त्यसो भएको हुनाले मैले दाबी गर्नेभन्दा पनि पार्टीलाई एकढिक्का बनाउनका लागि कसरी पदको व्यवस्थापन गर्ने भन्ने नै हो। समावेशीता, प्रदेशका कुराहरु पनि आउलान्। त्यो सबै कुरा हेरिरहँदा सबैको उचित व्यवस्थापन निश्चित रुपबाट हुन्छ। छलफलबाट नै टुंगो लाग्छ। एउटा व्यक्तिलाई भनेर हुँदैन।
नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभयो। अहिले स्वाभाविक रुपमा वरिष्ठ उपाध्यक्षको दाबी त होला नि?
वरिष्ठ उपाध्यक्षको जम्मा एउटा पद छ। सिनियर हामी धेरै छौं। लामो समयदेखि दुःख-कष्ट गरेका नेताहरु छौं। सबैलाई लागेकै होला, मन त लागिहाल्छ। वरिष्ठ उपाध्यक्ष को बन्दा अहिलेको व्यवस्थापन राम्रो हुन्छ अथवा एकताको सन्देश दिने र पार्टीलाई बलियो बनाउने स्थिति कसरी बन्छ भनेर सोच्नुपर्छ। पहिले अध्यक्ष वा महासचिव हुन्थ्यो। अरु सबै सदस्य हुन्थे। पछि अध्यक्ष र महासचिव भन्यौं। भएन, पद विभाजन गर्नुपर्यो भन्यौं। जति पद बढ्दै गयो, त्यति नपुगेको जस्तो स्थिति बन्यो। त्यसो भएको हुनाले पदभन्दा पनि पार्टीको कुरालाई प्राथमिकता दिनुपर्छ। सिङ्गो पार्टीलाई सशक्त र विचारबाट युक्त बनाएर लैजाने नेकपा एमाले बन्यो है भन्ने हिसाबले सन्देश दिनुपर्छ। पदलाई गौण मान्नुपर्छ। मुख्य कुरा सिङ्गो पार्टीलाई मध्यनजर राख्नुपर्छ।
केपी शर्मा ओली नै निर्विकल्प भनेर प्रस्तुत गरिएको छ। के महाधिवेशनमा ओली नै एक्लो आकांक्षी हो?
अध्यक्षमा प्रतिस्पर्धा गर्नै नसक्ने भन्ने कुरा हुँदैन। अध्यक्ष, वरिष्ठ उपाध्यक्षदेखि सबै पदमा हुनसक्छ। तर, नेकपा एमालेलाई अहिले एकढिक्का बनाउनु छ। त्यो गरिरहँदा प्रतिस्पर्धा कुन-कुन पदमा गर्दा राम्रो हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ। केपी कमरेडका लागि यो अन्तिम नै होला। विधानतः ७० वर्ष पुगेपछि ती नेताहरुले अर्को पटक त पाउँदैनन्। त्यसो भएको हुनाले केपी कमरेडले इच्छा देखाउनुभएको छ। अरु साथीहरुको पनि इच्छा होला तर, खुलेर आउनुभएको छैन।
एमाले हाँक्न ओलीकै आवश्यकता छ भन्ने हिसाबले प्रस्तुत गरिएको छ नि?
पार्टी निर्माण र आन्दोलनलाई अघि बढाउने सवालमा पार्टीको मूल नेतृत्वको दृष्टिकोण, सोच कसरी अघि बढ्दो रहेछ भन्ने कुरा महत्त्वपूर्ण हो। टिमको भिजन, सोच, सक्रियता, सामूहिकता महत्त्वपूर्ण हुन्छ भन्छु म। त्यस्तो भएन भने पार्टीमा एक्लो व्यक्तिले गर्नसक्ने भन्ने होइन। सामूहिक प्रणाली, विधि, जिम्मेवारी हुनुपर्छ भनेर हामीले भनिरहेका छौं नि। सामूहिकताविना पार्टी चल्छ भन्ने दृष्टिकोण राख्नु पनि हुँदैन।
अहिलेको नेतृत्वकै कमजोरीले विभाजन भयो भनेर तपाईंहरु नै कडा आलोचक हुनुहुन्थ्यो। आज नेतृत्वसँग नजिक हुनुहुन्छ। नेतृत्वमा केही परिवर्तन आएको हो कि तपाईं परिवर्तन हुनुभएको हो?
यो दुईवटै कुरा होइन। हिजोको दिनमा मैले आलोचना गरेकै हो। उहाँको सोच, शैली, व्यवहारहरुले गर्दा पार्टीमा अप्ठ्यारो भयो। द्वन्द्व भयो। पार्टीले जसरी काम गर्नुपर्ने हो त्यसरी गर्न सकेन। नेतृत्वकै बीचमा पनि समझदारी बनाउन सकेन। सिङ्गो पार्टीलाई एकढिक्का बनाएर लैजान सकिएन भनेर आलोचना गरेकै हो। तर, अहिले एउटा टिम त फुटेर जानुभयो। हामी यतै आयौं। किनभने, हामीले यही पार्टीभित्र बसेर लड्ने हो। हिजो पनि हामीले सोच त्यही बनाएको हो। पार्टी फुटाउनै हुँदैन भन्ने कुरा हो नि त। हिजो बामदेव कमरेडले पार्टी फुटाउँदा विग्रह गर्नै नहुने हो भनिरहँदा अहिले फुटाउनु ठीक भन्न मिल्दैन। त्यस कारण त्यो बेला पनि, अहिले पनि, केपी कमरेडको मात्र होइन, अरुको पनि यस्तो सोच छ भने त्यो गलत हो। कम्युनिस्ट विरोधी आचरण छ भने त्यसको विरोधमा पार्टीभित्रै बसेर लड्नुपर्छ। वैचारिक संघर्ष गर्नुपर्छ। हामी लामो समय त्यसै हिसाबले लडेका थियौं। पछि नेकपा बनिरहँदा पो अलि परपर थियौं। अहिले पनि मलाई लाग्छ, वैचारिक संघर्ष गर्नैपर्छ।
पुष्पलाललाई भेट्न पाइनँ। उहाँलाई पढ्दा म धेरै प्रभावित भएँ। मुलुकको आन्दोलनको लागि, जनताको मुक्तिको लागि, निरंकुशता अन्त्यको लागि दुःख भन्नुभएन, कस्ट भन्नुभएन, भोक तीर्खा भन्नुभएन। हामीले जाबो एउटा पद त्याग्न सकेनौं भने हामी गर्छौं के?
पार्टीहरुमा शुद्धीकरण आवश्यक छ। विचारयुक्त र विशाल पार्टी बनाउनुपर्छ। विशालताले मात्रै हुँदैन, त्यो पार्टीले अहिलेको चुनौती सामना गरेर देशलाई अघि बढाउनसक्ने क्षमता राख्नुपर्छ। त्यो हिसाबले पार्टीभित्र अनुशासन, विचारदेखि लिएर भिजनसम्ममा छलफल गरेर एउटा साझा धारणा बनाउनुपर्छ। मलाई के लाग्छ भने व्यक्ति परिवर्तन हुनसक्छ। छलफल गरिरहँदा हिजोको परिस्थिति र अहिलेको परिस्थितिमा अलि बदलाव त आयो नि। सँगै बसेर आलोचना गर्ने, यसो भएन है अब यसरी जाने भनेर भनिरहँदा थोरै सोचहरुमा परिवर्तन आएको पनि छ। फरक शैली आइरहेको छ।
हिजो यस्तो भयो, अब यसरी जानुपर्छ भन्ने कुरा भएको छ। हामी मानिस हौं, रुपान्तरण हुन सिक्नैपर्छ। तपाईं रुपान्तरण हुन सक्नुभएन, म रुपान्तरित हुन सकिनँ भने, चुनौती सामना गर्ने हिम्मत गर्न सकिएन भने गाह्रो हुन्छ। मानिसको सोच, शैली र व्यवहारमा रुपान्तरण अत्यावश्यक छ। यसरी हेरिरहँदा, भित्र संघर्ष गरिरहँदा मेरै पनि कति कमीकमजोरी होलान्। त्यसैले हामी सबैले आ-आफ्ना कमीकमजोरी सच्च्याएर सुदृढ र व्यवस्थित एमाले बनाउन सक्छौं। त्यसतर्फ सबैको ध्यान जानु पनि पर्छ।
तपाईंबाहेक एमालेमा महिलाको सहभागिता पदाधिकारीमा पनि छैन। स्थायी कमिटीमा पनि छैन। पुरुषहरुको मात्रै क्लब जस्तो भएन र एमाले?
होइन। हामीले गणतन्त्र ल्याएका छौं। समावेशी समानुपातिक सिद्धान्तलाई अपनाएका छौं। यत्रो समाजवादको लक्ष्य लिएका छौं। महिलामैत्री संविधान बनेको छ। यहाँसम्म आइपुग्दा, कम्युनिस्ट आन्दोलनले उपलब्धि हासिल गरिरहँदा महिलाको केही पनि छैन, पुरुषले मात्र गरेको भन्न त सुहाउँदैन नि। महिलाले पनि भूमिगत भएर, त्याग गरेर, जेलनेल भोगेर योगदान दिएका छन्। त्यसरी पार्टी निर्माण गरेर एउटा राजनीतिक उपलब्धि प्राप्त भएको छ।
यतिबेला हेरिरहँदा सामन्ती व्यवस्था ढलेर गणतन्त्र आएको छ तर, राजनीतिक नेतृत्वमा अझै पनि सामन्ती चिन्तन, पितृसत्ताको सोच अन्त्य हुन सकेको छैन। अहिले पनि पार्टीहरु भित्र हेर्ने हो भने महिलालाई सक्षम नदेख्ने, उनीहरुले सक्छन् भन्ने नसोच्ने, उनीहरुलाई जिम्मेवारी र अवसर दिनुपर्छ भन्ने नसोच्ने खालको सोच छ। यसलाई अझै पूरै परिवर्तन गर्न सकिएको छैन। महिला र पुरुष समान छन्, महिलाले पनि जिम्मेवारी पाए गर्न सक्छन् भनेर आन्दोलनमा लागेका महिलाको उचित मूल्याङ्कन गर्ने हो भने धेरै थोक बदलिन सक्छ।
आउँदो महाधिवेशनबाट एकतिहाइ महिलाको उपस्थिति देख्न पाइनेछ। यसमा तपाईंको भूमिका कस्तो रहन्छ?
त्यो त पाइन्छ नै। हामीले संविधानमा नै प्रस्ट भनेका छौं। यसअघिको विधानमा पनि त्यही भनेका छौं। यदि महिलाको स्थान खाली भयो भने पनि त्यसमा महिला नै राख्नुपर्छ, पुरुष राख्न मिल्दैन। यसपालि पनि हामीले एकतिहाइ महिला सहभागिता हुने भनेका छौं। र, त्यो पुग्छ पनि। प्रतिनिधि पनि त्यसै हिसाबले ल्याउन खोजेका छौं। निर्वाचन भयो भने पनि एकतिहाइ पुर्याउने कुरामा समस्या हुँदैन। तर, महत्त्वपूर्ण जिम्मेवारी दिने सवालमा, महिलालाई अघि बढाउने सवालमा अब अलि फराकिलो हुन सिक्नुपर्छ।
दशबुँदे सहमतिपछि तपाईंहरु एमालेमै रहनुभयो। तर, अहिले तपाईंहरुका बीचमा केही मतमतान्तर देखिएको छ भनिन्छ। तपाईंहरु नै छिन्नभिन्न हुनुभएको हो?
अब १० नेता भनेर मात्रै बस्ने स्थिति छैन। हामी छिन्नभिन्न भयौं भन्ने कुरा पनि म मान्दिनँ। आवश्यकता अनुसार नेताहरुसँग बस्छौं। आवश्यक परेमा आपसमा थुप्रै नेताहरुसँग छलफल गर्छौं। महासचिव हुनुहुन्छ। अध्यक्ष नै हुनुहुन्छ। अरु सचिवहरु हुनुहुन्छ। हामी सबैसँग बसिरहेका छौं। छलफललाई अलि फराकिलो बनाउनुपर्छ। अब हामी १० जना मात्रै भनेर हुँदैन। हामी सीमित बसेर मात्रै हुँदैन। हामीले एमाले बनाउन चाहेका छौं। हाम्रो चाहना एमाले कमजोर नहोस्, साँघुरो नहोस् भन्ने हो। एमाले एकढिक्का होस्, फराकिलो होस्। पार्टीमा सबै अटाउने स्थिति होस् भन्ने हो। अध्यक्षसँग कहिलेकाहीँ मेरो छलफल पनि हुन्छ। उहाँ पनि अब एमालेलाई शक्तिशाली बनाउँ भन्नुहुन्छ। सबैलाई अटाउँ भन्नुहुन्छ। अब एमाले हिजोको जस्तो एमाले भएन। यहाँ सबै पक्षहरु हुनुहुन्छ। अरु पनि एमाले राम्रो बनाउने भनेर आउनुभएको छ। त्यसो भएको हुनाले एमालेलाई बलियो र शक्तिशाली बनाउन नेतृत्वको विचार फराकिलो हुनुपर्छ। सबैलाई जिम्मेवारी दिनुपर्छ। त्यसरी नै व्यवस्थापन हुन्छ।
म अहिले पनि लागेका कुरा बैठकमै राख्छु। पार्टीभित्रको अन्तरविरोध बाहिर छरपस्ट गर्नेभन्दा पनि कमिटीभित्र राखेर यो भएन है भन्नुपर्छ। यसरी अध्यक्षसँग चित्त दुखेमा यो भएन भनेर भन्दा राम्रो हुन्छ। बैठक बसेन भने भेटेरै छलफल गर्न सक्छौं। मैले त्यही विधि अपनाएकी छु। फेरि म कुनै कुरा मनमा राख्न सक्दिनँ। मलाई अलिकता चित्त बुझेन भने राखिहाल्छु। अन्य नेताहरु पनि त्यस्तै हुनुहुन्छ। एमाले शून्य खालको, छलफल नै नगर्ने, त्यो खालको पार्टी छैन। हिजोको तुलनामा अझै विकास भएको छ।
भीम रावल, घनश्याम भुसाललगायत नेताहरु अहिले पनि १० बुँदे कार्यान्वयन भएन भनिरहनुभएको छ। त्यसले महाधिवेशनमा केही असर पार्छ?
बागमती प्रदेश मेरो जिम्मेवारी क्षेत्र भएकाले म यहाँ सक्रिय रुपमा लागेको छु। पार्टीको उपाध्यक्ष, यो भन्दा पहिलो इन्चार्जको भूमिकामा थिएँ। अहिले बादल कमरेड इन्चार्ज हुनुहुन्छ। आनन्द कमरेड अध्यक्ष हुनुहुन्छ। म पार्टीको उपाध्यक्ष हुँ। मलाई उपाध्यक्षको हिसाबले बागमती प्रदेश हेर भनिएको छ। मैले भनिरहेकी छु- १० बुँदे र पार्टीलाई जेठ २ गते लग्नैपर्छ भनेर निर्देशन दिएकी छु, पदाधिकारी बैठक बसेर निर्देशन भएको छ। अझै संकीर्णता माथि नै छ भने तल नहुने कुरै भएन। थोरै थोरै समस्या छ। एकै पटक हल हुन्छ भन्ने पनि लाग्दैन। यो निरन्तर छलफल र विचार विमर्शको प्रक्रिया हो। आजको आजै १० बुँदे लागू गर, एक अंश पनि तलमाथि गर्न पाइँदैन भनिरहँदा कतिपय अवस्थामा मिल्दैन। हामी १० जना आउनुभन्दा अघि इन्चार्ज बनाइसकिएको थियो। अध्यक्ष बनाइसकिएको थियो। अब उहाँको इन्चार्ज वा अध्यक्ष पद खोसेर दिनुस् भन्न उचित हुन्छ? मलाई त्यो ठीक लागेन। बादल कमरेड पनि संघर्षबाट आउनुभएको हो। समझदारी बनाएर काम गरौँ न। म हिजो पनि संकीर्ण थिइनँ, अहिले पनि हुँदिन। पदाधिकारी बैठक बसौं, छलफल गरेर टुङ्गो लगाउँ। त्यसपछि एक अर्कालाई सम्मान गरौं भनेको छु। बागमतीमा थोरै समस्या छ तर, हल गर्न नसकिने खालको जटिलता छैन। गुनासो गर्न सकिन्छ, तर गुनासोले मात्रै काम हुँदैन।
तपाईंको कुरा नेताहरुले फराकिलो दिमागले सोच्नुपर्यो भन्ने हो?
मुख्य कुरा त्यही हो। मैले कम्युनिस्टको हृदय फराकिलो हुन्छ भन्ने पढेको थिएँ। कम्युनिस्ट मन फराकिलो हुन्छ, विशाल हुन्छ, उसले देश र जनतालाई मात्रै बुझ्छ, आफ्नो स्वार्थलाई त्याग गर्नुपर्छ भन्ने कुराबाटै प्रभावित भएको थिएँ। त्यसरी नै अगाडि बढेको थिएँ। माओका रेड बुकहरु पढेर कम्युनिस्ट भएको नेता हुँ। कम्युनिस्ट हृदय फराकिलो हुन्छ। उसले सम्पूर्ण व्यक्तिगत इच्छालाई देश र जनताको नाममा तिलाञ्ली दिनसक्छ भन्ने पढेको थिएँ।
पुष्पलाललाई भेट्न पाइनँ। उहाँलाई पढ्दा म धेरै प्रभावित भएँ। मुलुकको आन्दोलनको लागि, जनताको मुक्तिको लागि, निरंकुशता अन्त्यको लागि दुःख भन्नुभएन, कस्ट भन्नुभएन, भोक तीर्खा भन्नुभएन। हामीले जाबो एउटा पद त्याग्न सकेनौं भने हामी गर्छौं के? मुलुकलाई समृद्धि र विकासमा लग्न सक्छौं? मुलुकमा समाजवाद त्यसै आउँछ? त्यसै सामाजिक, आर्थिक र सास्कृतिक रुपान्तरण हुन्छ? त्यसको लागि फराकिलो मन चाहिन्छ।
यस शृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।