स्पन्दनको पनि अनुभूति नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ ।
एक जना ६७ वर्षीय बाजे हिँड्ने बेला छाती दुख्ने र असहज हुने भन्दै ओपीडी कक्षमा आउँछन्। उनी टुसुक्क कुर्सीमा बस्छन्। जीवितै हुँदा आफ्नो लागि अस्पताल पाइला टेकको यो पहिलो पटक हो भनी सुनाउँछन्। केही जाँचहरू गरेपछि मुटुको नसाहरू हेर्नुपर्ने व्यहोरा बुझाउँछु। कोरोनरी एन्जिओग्राफीको प्रक्रिया विस्तारमा बताउँछु।
उनी ध्यान दिएर सुन्छन् र अचानक सपाट भन्छन्- 'पहिले को त्यस्तो वीर डाक्टर जन्मेको रहेछ, मुटुमै तार पुर्याइदिने?'
म एक क्षण सोच्न थाल्छु। मलाई इतिहासको गर्भमा पुग्न मन लाग्छ।
सन् १९२९ तिरको कुरा हो। जर्मनीमा हिटलरको उदय शुरू हुँदै थियो। चरम बेरोजगारी र सामाजिक अस्थिरताले इतिहासकै एक खलपात्र जन्माइरहेको समय थियो। हिटलरको नरसंहार घृणा र असहिष्णुताबाट जन्मिएको एउटा दुषित परिणाम थियो।
तर सोही समय, बर्लिन नजिकैको एक अस्पतालको करिडोरमा एक जना चिकित्सक मनुष्यको मुटुबारे सोचमग्न हुँदै हिंडिरहेका थिए। उनी आइन्स्टाइनजति चर्चित त होइनन्, तर मुटुजस्तो निरन्तर चलायमान अंगमा अनुसन्धान गर्ने हिम्मत बटुलेका एक साहसी व्यक्ति अवश्य हुन्।
उनी विश्वास राख्थे, यदि औषधि क्याथेटरमार्फत सिधै मुटुभित्र पुर्याउन सकियो भने उपचार अझ प्रभावकारी हुन सक्छ। आजको वैज्ञानिक परिप्रेक्ष्यबाट त्यो समयको अवस्था कल्पना गर्दा अचम्म लाग्छ-मुटुलाई छुन खोज्दा नै रोकिएर बस्ने युग थियो त्यो।
त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान ।
उनलाई हातका नसाबाट क्याथेटर छिराएर मुटुको दाहिने भागसम्म पुग्न सकिन्छ भन्ने 'मूर्ख' विचारले पछ्याइरहन्थ्यो। क्याथेटरप्रतिको मोह यति गहिरो थियो कि उनी धेरैजसो समय प्रयोग र अभ्यासमै बिताउँथे।
सिनियरहरूले यो कुरामा हाँसो उडाउँथे। विभाग प्रमुखले समेत यस्तो 'मूर्खता' त्याग्न चेतावनी दिएका थिए। तर फ्रसम्यान अडिग रहे। उनले गोप्य रूपमा आफ्नो प्रयास जारी राखे।
तर साथ दिन कोही थिएन। अन्ततः उनले एक नर्सलाई आफ्नो योजना सुनाए र समझाए। सुरुमा नर्सले यस्तो जोखिमपूर्ण काम अस्वीकारिन्, तर फ्रसम्यानले खतरा हुँदैन भनेर आश्वस्त पार्दा उनी राजी भइन्। शर्त भनेको, अनुसन्धान नर्समाथि गर्नुपर्ने।
तर नर्स सुत्ने बित्तिकै फ्रसम्यानले उनलाई टेबलमा बाँधिदिए। र आफ्नै बायाँ हातको कुहिनाअगाडिको नसाबाट ६५ सेन्टिमिटर लामो, पिसाब नलीमा प्रयोग हुने क्याथेटर छिराउन थाले। लगभग तीस सेन्टिमिटर पुगेपछि नर्सलाई खोलेर एक्स–रे कक्षतिर दौडिए।
एक्स–रेमार्फत क्याथेटर कुम नजिक पुगेको देखेपछि उनले तस्बिर हेर्दै क्याथेटरलाई मुटुसम्म पुर्याए।
इतिहासमै पहिलो पटक मान्छेको मुटुसम्म क्याथेटर पुर्याउने दुस्साहसमा उनी सफल भए।
उनीहरूले यो अनुसन्धान जर्नलमा प्रकाशित पनि गरे, तर प्रतिक्रिया भने आलोचनामात्र आयो।
उनको काम कसैलाई पचेन। विभागबाट निकालिए। धेरै वर्षसम्म जागिरकै लागि हण्डर खानुपर्यो। कहिले सर्जरी, कहिले युरोलोजी विभाग- कुनै पनि ठाउँमा उनलाई स्वतन्त्र रूपमा काम गर्न सहज वातावरण दिइएन। सायद, नवीन प्रयोग गर्नेहरू प्रायः जीवनमै हण्डर खान बाध्य हुन्छन्।
उनको १९२९ को लेख १२ वर्षपछि दुई जना पल्मोनोलोजिस्ट (Cournand र Dickinson Richards) ले पढे। उनीहरूलाई प्रयोग अघि बढाउने उत्साह जाग्यो र अन्ततः सफल भए।
उनीहरूले मुटुको कोठाहरूको प्रेसर मापन गरे, र १९५६ मा फ्रसम्यानसहित ती तीनै जनालाई नोबेल पुरस्कार प्रदान गरियो।
ढिलो भए पनि फ्रसम्यानको दुस्साहसले सम्मान पायो। र कार्डिओलोजीको भविष्य बदल्ने ढोका खोलिदियो। आत्म-अनुभवमै आधारित त्यो साहसिक प्रयोगले आधुनिक हृदय–चिकित्साको आयाम नै बदलिदियो। घतलाग्दो कुरा त के भने, मुटुसम्म तार पुर्याउने प्रविधिको मूल बीउ राख्ने व्यक्ति २५ वर्षका एक युवा सर्जन थिए।
उही
इतिहास खोतल्ने दुस्साहस।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।