पक्राउ परेका चिनियाँ ह्याकर।
काठमाडौं- एटिएम ह्याकका विषयमा अध्ययन गर्न नेपाल आएको सिंगापुरको फरेन्सिक एक्सपर्ट टोलीले सो विषयमा अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ।
अध्ययन टोलीले राष्ट्र बैंकलाई सो घटनासम्बन्धी अध्ययनको प्रारम्भिक जानकारी दिए पनि त्यसबाट घटनाको वास्तविकता नखुलेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले उक्त अध्ययन टोलीले राष्ट्र बैंकलाई बुझाएको प्रारम्भिक अध्ययनको रिपोर्टले पनि वास्तविक समस्या कहाँ थियो भन्ने पहिल्याउन नसकेको जानकारी दिए।
निरौलाका अनुसार उक्त अध्ययन टोलीले एटिएम ह्याकको फरेन्सिक अध्ययन सम्बन्धी पूर्ण रिपोर्ट ३ महिनाभित्र बुझाइसक्नेछ। फरेन्सिक टोलीले ह्याकरहरुले पैसा चोरी गर्न प्रयोग गरेका सामाग्रीहरुको विस्तृत अध्ययन गर्नेछ भने नेप्स र भिजा प्रणालीमा भएको साइबर हमलासम्बन्धी कमजोरी पनि पत्ता लगाउनेछ।
चिनियाँ ह्याकरहरुले प्रयोग गरेका सामाग्रीहरु र त्यसबाट नेप्स तथा भिजाको स्वीच प्रणालीमा कसरी साइबर हमला गरिएको थियो भन्ने विषय खुलेपछि मात्रै एटिएम ह्याकमार्फत भएको बैंक डकैतीको वास्तविकता थाहा हुने अनुमान गरिएको छ।
भिजा नेटवर्क सञ्चालन गरिरहेको अमेरिकी कम्पनी 'भिजा'ले पनि यस विषयमा अध्ययन गरिरहेको जनाएको छ।
त्यसैगरी, यस विषयमा नेपाल राष्ट्र बैंकले पनि कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा अध्ययन गरेको थियो। उक्त समितिले बैंकहरुको आन्तरिक नेटवर्क अर्थात कोर बैंकिङ सिस्टम (सिबिएस) मा नभई उनीहरुले अन्तरबैंक कारोबारका लागि प्रयोग गर्दै आएको नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) र भिजा प्रणालीलाई साइबर हमलाको निसाना बनाई चिनियाँ ह्याकरहरुले बैंक डकैती गरेको निष्कर्ष निकालेको थियो।
गत भदौ १४ मा काठमाडौंस्थित ७ वटा बैंकका एटिएम बुथबाट चिनियाँ र फ्रेन्च ह्याकरले १ करोड ८९ लाख भन्दा बढी रकम झिकेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रकम झिक्नेमा संलग्न चिनियाँ नागरिकहरु लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई होटल र दरबारमार्गस्थित एटिएम बुथबाट पक्राउ गरेको थियो।
एटिएमबाट अवैधरुपमा पैसा निकालेपछि नियमविपरीत मनि एक्सचेन्जमा साटिएपछि मनि एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पनि पक्राउ परेका थिए।
फरार रहेका तीनमध्ये फ्रेन्च नागरिक छु लुई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ परिसकेका छन्। फरार २ चिनियाँलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन 'इन्टरपोल'लाई पत्राचार गरिसकेको छ।
प्रहरीले त्यसबेला रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १ सय ९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १ सय ३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको थियो।
सम्बन्धित समाचारः
एटिएम ह्याकका विषयमा राष्ट्र बैंकको यस्तो छ निष्कर्ष
ह्याक हुने डरले अधिकांश बैंकका एटिएम बन्द
नक्कली एटिएम कार्ड प्रयोग गरी नबिल बैंकबाट डेढ करोड निकाल्ने ५ चिनियाँ नागरिक पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।