एटिएम ह्याक प्रकरण : ३ जना मनी एक्सचेञ्ज सञ्चालक पक्राउ

नेपाल लाइभ | २०७६ भदौ १६ सोमबार | Monday, September 02, 2019 १८:०३:०० मा प्रकाशित

काठमाडौं- एटिएम ह्याक प्रकरणमा प्रहरीले ४ जना मनी एक्सचेन्ज सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पक्राउ परेका हुन्। उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। 

एटिएम ह्याक गरेर रकम निकालेका चिनियाँ नागरिकले डेक्सो मनी एक्सचेन्जमा गएर २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए भने नेपाल मनि एक्सचेञ्जमा गएर २९ लाख ९९ हजार रुपैयाँ गैरकानुनी रुपमा साटेका थिए। 
उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान सुरु गरिएको छ।

त्यसैगरी सोही प्रकरणमा फरार भएका तीन जनामध्ये एक  छु लुई लीलाई गएराति प्रहरीले त्रिभूवन विमानस्थल प्रयो गरी विदेशिन लागेका बेला पक्राउ गरेको थियो।

यसअघि शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन रहेका छन्। उनीहरूलाई बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

एटिएम बुथमा शंकास्पद गतिविधि गरेको भनी बैंकबाट आएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका थिए। 

नबिल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनीमार्फत नै प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो। 

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको छ।

पक्राउ परेका चिनियाँ नागरिकहरू भदौ १३ गते नेपाल आएका थिए भने भदौ १६ गते फर्किने तयारीमा थिए।