काठमाडौं– गृह मन्त्रालयले सार्वजनिक गरेको एउटा भिडियो रिल्समा गृहमन्त्री सुदन गुरुङसँगै फरार अभियुक्त देखिएका छन्।
दुईवटा अभियोग लागेर ‘फरार’ रहेको भनिएका अभियुक्त नितेश ओली हालै गोरखामा गृहमन्त्रीको भ्रमणका क्रममा सँगै देखिएको भिडियो मन्त्रालयको फेसबुक पेजबाट सार्वजनिक भएको हो।
नितेश स्वयंले यसअघि गृहमन्त्रीसँग खिचेको सेल्फी सार्वजनिक गरेका थिए। नेपाललाइभमा यसबारे समाचार प्रकाशित भएपछि उनले आफ्नो फेसबुकबाट गृहमन्त्रीसँगका फोटो र भिडियोहरू डिलिट गरेका थिए।
नितेशले सशस्त्र प्रहरी बलका एसएसपी सुदिर जंग थापामाथि अभद्र व्यवहार गरेको कसुरमा सुनसरी प्रहरीले उनलाई पक्राउ गर्न भन्दै २०८२ मंसिर २१ गते झापा प्रहरीलाई पत्राचार गरेको थियो। झापाको हल्दिबारीका नितेशलाई अहिलेसम्म झापा प्रहरीले माथिल्लो तहको दबाबमा परेर पक्राउ गर्न सकेको छैन।
त्यसो त, नेपाल पत्रकार महासंघ झापा शाखालगायतका पदाधिकारी र समग्र पत्रकारिताको बदनाम हुने गरी निरन्तर सामाजिक सञ्जालमा अफवाह फैलाएपछि नितेशविरुद्ध झापा प्रहरीमा साइबर अपराधअन्तर्गत २०८३ असार १५ गते जाहेरी दर्ता भएको थियो। सोही दिन पक्राउ पुर्जी जारी भएको थियो। तर, झापा प्रहरीले उनलाई पक्राउ गर्नुको साटो हतारहतार ‘फरार अभियुक्त’को सूचीमा राखेर सरकारी वकिलसमक्ष मुद्दा बुझाएको छ।
यो पनि...
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी https://nepallive.com/story/352171
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
https://nepallive.com/story/352192
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।