काठमाडौं - चोरी भएको माइक्रो गाडीसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार गत असोज २९ गते राति ११:४५ बजेको समयमा काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोरको सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरी राखिएको बा २ ज १८०५ नम्बरको माइक्रो गाडी हराएको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त गाडी कात्तिक २ गते कलंकीबाट चोरी भएको पत्ता लगाएको थियो। कात्तिक ५ गते बिहान १०:३० बजेको समयमा काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न व्यक्तिहरूलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने विशाल लामा रहेका छन्।
उनीहरूलाई चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।