काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबारको भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालको कनेक्सनबारे जानकारी गराएका थिए। सल्लाहकार कुमार बेनसहित रविको निवास बूढानीलकण्ठ पुगेका बालेनले संघीय निजामती सेवासम्बन्धी अध्यादेश र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीको विषयसँगै ह्वाट्सएपमा बिचौलिया इनम सापकोटा र उनीहरूबीच सन्देश आदानप्रदान भएको देखाएका थिए।
बुधबारको भेटबारे जानकार प्रधानमन्त्रीनिकट स्रोतले बिहीबार नेपाललाइभलाई बताएअनुसार, बालेनले प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयाललाई कारबाही गर्ने विषयसमेत उठाएका थिए। तर, रविले थप छलफल गर्ने भन्दै तत्काल निर्णय गर्न चाहेनन्।
‘बुधबारको भेटमा छलफल भएपछि बिहीबार जताततै समाचार प्रकाशित भयो। यो प्रधानन्यायाधीश र न्यायाधीश हटाउने खेलको अभ्यास थियो। तर, के हुन्छ, यसै भन्न सकिएन,’ उक्त स्रोतले भन्यो।
सर्वोच्च अदालतदेखि विभिन्न अदालतमा बिचौलियाको भूमिका निभाएको आरोपमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको शर्मा र फुयालसँगको कनेक्सनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार यहाँ प्रस्तुत गरिएको छ।
प्रधानन्यायाधीश शर्मासँग सम्बन्धित समाचार
प्रधानन्यायाधीश शर्मासँग सम्बन्धित समाचार दियोपोस्टले प्रकाशित गरेको छ। समाचार यस्तो थियोः
सर्वोच्च अदालतदेखि विभिन्न अदालतमा बिचौलियाको भूमिका निभाएको भेटिएपछि पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको उच्च तहका व्यक्तिहरूसँग सम्पर्क देखिएको छ। पक्राउ परेका बिचौलिया सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाहको नामसमेत दुरुपयोग गरी न्यायाधीशहरूलाई फोन गर्ने, सन्देश पठाउने र मुद्दामा सेटिङ गर्ने गरेको पाइएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेपछि उनको मोबाइलमा भेटिएको संवादका आधारमा पक्राउ परेका बिचौलिया सापकोटाले बहालवाला प्रधानन्यायाधीशको नाममा समेत अमेरिका र नेपालका बैंकमा घुस रकम जम्मा गर्ने गरेको प्रमाण फेला परेको छ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अति निकट सम्पर्क र सम्बन्ध भएका हालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा शर्मासँगै बिचौलियाको भूमिका निभाएका रास्वपाका सांसद एवं तत्कालीन नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालका बैंकमा घुस रकम जम्मा गर्ने गरी संवाद भएको भेटिएको छ।
जनवरी, नोभेम्बर र डिसेम्बर गरी तीन महिनाको जम्मा रकम १ लाख ९८ हजार ३ सय ३३ रहेको र त्यसमा कर कटाउँदा १ लाख ७४ हजार ३ सय ३३ हुने उल्लेख छ। यद्यपि, उक्त रकम अमेरिकी डलरमा हो वा नेपाली रुपैयाँमा भन्ने खुलाइएको छैन। रकमको तलतिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुङ्गाबाट निर्वाचित सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल (ओखलढुङ्गा) र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नाम उल्लेख छ।
उक्त रकम अमेरिकामा रहेका बिचौलिया इनम सापकोटाका सालो नीराजन पाण्डेको नाममा रहेको बैंक अफ अमेरिकाको खातामा जम्मा गर्न भन्दै खाता नम्बरसमेत उपलब्ध गराइएको छ। इनमले उक्त रकम जम्मा गर्न भनी पठाएको सन्देशमा नेपाली बैंकमा जम्मा गर्नुपरे आफ्नी श्रीमती कविता पाण्डेको खातामा जम्मा गर्नुपर्ने विकल्पसमेत दिइएको छ।
यसरी नाम उल्लेख भएकै आधारमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल भने निलम्बनपछि बर्खास्तसमेत भइसकेका छन्। तर, रकम नै जम्मा भएको भेटिए पनि प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद पोखरेलमाथि छानबिन भएको छैन। स्रोतका अनुसार तत्कालीन प्रधानन्यायाधीश जबराको पालामा हालका प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद पोखरेल जबराकै निवासबाट अदालतमा सेटिङ गर्ने कार्यमा संलग्न थिए। उनीहरूले अदालतमा सेटिङ गर्ने र घुसबापतको रकम इनमजस्ता बिचौलियाका नाममा विभिन्न खातामा राख्ने गरेको खुलेको छ। रास्वपा सांसद पोखरेलले त सालीको नाममा अर्बौँ रुपैयाँ जम्मा गरेको स्रोत बताउँछ।
त्यस्तै, बिचौलिया सापकोटाले सर्वोच्च अदालतकै अर्का न्यायाधीश हरि फुयालसँग मुद्दाको विषयमा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरेर संवाद गरेका छन्। ‘प्रधानमन्त्रीले तपाईंलाई सोध्नुभएको छ’ भन्दै इनमले फुयाललाई सन्देश पठाएपछि फुयालले जवाफ दिएका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उनको मोबाइलमा भेटिएका शङ्कास्पद पात्र सापकोटासँग सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तमा परेका छन्। नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र एआईजी राजन अधिकारीले समेत सापकोटालाई सूचना दिने गरेको पाइएको थियो। दियोपोस्टले यो विषय खुलासा गरेपछि प्रधानमन्त्री बालेन शाहको सचिवालयले आईजीपी कार्कीको राजीनामा मागेको खबर केही सञ्चारमाध्यमले लेखेका छन्। तर, यसको पुष्टि भइसकेको छैन।
गत असोज १४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका सापकोटाको मोबाइलमा नेपाल प्रहरीकै उच्च अधिकारीहरूसँगको सम्पर्क र रहस्यमय सम्बन्धसमेत देखिएको छ।
सापकोटाले सिंगापुरको मोबाइल नम्बरमा समेत कुराकानी गर्ने गरेको देखिएको छ। उनको सिंगापुरमा कम्पनीसमेत रहेको र दुबईमा अपार्टमेन्ट पनि रहेको पाइएको छ। उनले नेपालमा मुद्दाको सेटिङ गर्ने तथा दुबई, अमेरिका र सिंगापुरलगायतका मुलुकमा लेनदेन गर्ने गरेको खुलेको छ। त्यसैले पनि उनको अधिकांश सम्पर्क भीआईपीहरूसँग देखिएको छ। उनको सम्पर्क, लेनदेन र कारागारमा रहेका थुनुवा तथा कैदी छुट्नेसम्मका घटनाबारे अनुसन्धानबाट विवरण खुलेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग समेत उनको निकट सम्बन्ध देखिएको छ। उनकै सेटिङमा खाँण छुटेको हुन सक्ने आशङ्का अनुसन्धानमा संलग्न स्रोतले गरेको छ। त्यस्तै, कांग्रेस नेताहरूसँगको कुराकानीपछि सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी विवादको मुद्दामा कांग्रेसका नेताहरू उत्साहित देखिएकोसमेत पाइएको छ।
नेपालका ठूला नेता, न्यायाधीश र कर्मचारीले विदेशी मुलुकमा घुस जम्मा गर्ने गरेको चर्चा सार्वजनिक रूपमा हुने गरेको थियो। झापाको दमक घर भएका सामान्य ३० वर्षीय युवा इनम सापकोटालाई उच्च तहको सेटिङमा उपयोग गरी विभिन्न विदेशी मुलुकमा रकम जम्मा गरिएको पुष्टि भएको अवस्थामा सार्वजनिक चर्चाको यो विषय अब राजनीतिक मुद्दा बन्ने देखिन्छ।
प्राप्त कागजातबारे प्रतिक्रिया लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश शर्माको नम्बरमा फोन गर्दा उनको फोन स्विच अफ थियो। त्यस्तै, रास्वपाका सांसद विश्वराज पोखरेल पनि सम्पर्कमा आएका छैनन्। उनीहरूसँग सम्पर्क वा प्रतिक्रिया प्राप्त भएपछि त्यसलाई समेत स्थान दिइनेछ।
प्रधानन्यायाधीशले खण्डन गर्दै के भने?
दियोपोस्टमा आफ्नो नाम जोडेर समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले बिहीबार नै त्यसको खण्डन गरेका छन्। उनले भनेका छन्ः
‘आज दियो पोस्ट भन्ने अनलाइन पत्रिकालगायतका सञ्चारमाध्यममा मेरो नामसमेत जोडी “प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस: फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण” लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति म आश्चर्यचकित र स्तब्ध भएको छु। जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्ति एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान वा सम्पर्कसमेत छैन। मैले कहिल्यै भेटेको पनि छैन। उक्त प्रसङ्गमा उल्लेखित नोभेम्बर, डिसेम्बर र जनवरीमा म प्रधानन्यायाधीश पनि भइसकेको थिइनँ। यसरी आधारहीन, झुटा, कपोलकल्पित र जनमानसमा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु। यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु।’
शर्माले इनमसँग प्रधानन्यायाधीश हुनुअघिको सम्बन्ध थियो भन्ने सङ्केत भने दिएका छन्।
न्यायाधीश हरि फुयालसँग सम्बन्धित समाचार
न्यायाधीश हरि फुयालकेन्द्रित समाचार नयाँ पत्रिका दैनिकले बिहीबार प्रकाशित गरेको थियो। समाचारमा सर्वोच्च अदालतका न्यायाधीश फुयाल र पुर्पक्षका लागि थुनामा रहेका बिचौलिया दीपक भट्टका प्रतिनिधि बिचौलिया इनम सापकोटाबीच न्यायिक प्रक्रियामा साँठगाँठ भएको उल्लेख छ। नयाँ पत्रिकाको समाचार यस प्रकार रहेको छः
कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहका सदस्यहरूको विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको ‘सन्देहपूर्ण सम्बन्ध’ देखिएको छ। नयाँ पत्रिकाले प्राप्त गरेको उनीहरूबीचको ह्वाट्सएप सन्देशमा फुयालले भट्ट समूहका व्यक्तिलाई आफूहरूले धरौटीमा छाडेको उल्लेख गरेका छन्। उनले सापकोटालाई होटलमा भेटेको पनि संवादबाट खुल्छ।
बिचौलिया सापकोटाको ‘मिस्ड कल’को जवाफ दिँदै न्यायाधीश फुयालले लेखेका छन्, ‘मैले यो ढिलो देखेँ। उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ। हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ। गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ।’ गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्च अदालतको वेबसाइटको लिङ्क पनि उनले सापकोटालाई सन्देशमा पठाएका छन्।
विशेष अदालतको निर्णय उल्ट्याउँदै फुयाल र अर्का न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले गत १७ भदौमा गुप्तालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यही दिन फुयाल र बिचौलिया सापकोटाबीच संवाद भएको स्रोतको दाबी छ। विशेष अदालतले २८ साउनमा गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। उक्त आदेश बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए।
त्यही संवादका क्रममा फुयालले बिचौलिया सापकोटालाई होटलमा भेट्नसमेत प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘भोलि साँझ ७ बजे हिमालय होटलमा भेटौँ।’ जवाफमा सापकोटाले भनेका छन्, ‘स्योर सर, चिन्ता नगर्नुस्, म भर्खर ल्यान्ड भएको छु।’ विवादास्पद कारोबारी भट्टको समूहको मुद्दाका विषयमा कुराकानी गर्न उनीहरूबीच भेट भएको स्रोतको दाबी छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हिमालय होटलमा फुयाल र सापकोटाबीच भेट भएको समयको सीसीटीभी फुटेजसमेत मगाएर अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ। तर, राजनीतिक नेतृत्वबाट भने सहयोग नभएको प्रहरी अधिकारी बताउँछन्।
स्रोतका अनुसार न्यायाधीश फुयाल र बिचौलिया सापकोटाबीच कुराकानी भएको केही दिनमै भट्ट पनि बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। उनका बुवा चतुर्भुज भट्टले गत ७ असोजमा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। भोलिपल्ट, ८ असोजमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो। उक्त मुद्दा त्यसपछि सुनुवाइका लागि पेस भएको छैन।
भट्टविरुद्ध धितोपत्रसम्बन्धी कसुर, बिमासम्बन्धी कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा संलग्न भएको अभियोगमा विभिन्न अदालतमा मुद्दा विचाराधीन छन्। सरकारले उनीविरुद्ध २७ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति कसुरजन्य कार्यबाट आर्जन गरेको अभियोगसहित बिगो दाबी गरेको छ। हिमालय रि–इन्सुरेन्स भट्ट र उनको समूहले घोटाला गरेको आरोप लागेका प्रमुख कम्पनीमध्ये एक हो, जसमा गुप्ता पनि पूर्वसञ्चालक थिए।
भट्ट र उनको समूहका विचाराधीन मुद्दामा प्रतिवादीलाई सुविधा हुने गरी चलखेल गरेको सूचनाका आधारमा प्रहरीले बिचौलिया सापकोटालाई गत १४ असोजमा विमानस्थलबाट पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्ने क्रममा न्यायालयभित्र र बाहिरका उच्चपदस्थ व्यक्तिहरूसँग शङ्कास्पद सम्बन्ध देखिएको छ। अदालतमा विचाराधीन मुद्दाको विषयमा न्यायाधीश फुयाल र सापकोटाबीच कुराकानी भएको र होटलमा भेटेको विवरण सार्वजनिक भएको छ। सापकोटाको मोबाइलबाट चलखेल र शङ्कास्पद कारोबारका विवरण भेटिएको प्रहरी स्रोत बताउँछ। सोही आधारमा प्रहरीले लगानी बोर्डका पूर्वसीईओ रहेका दीपक भट्टका दाइ सुशील भट्टलाई पनि पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिलीप घिमिरेले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए। ‘विशेष टोली नै गठन गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान नटुंगिएसम्म यससम्बन्धी विवरण गोप्य नै रहन्छन्।’
उपत्यका प्रहरी कार्यालयका एसपीको नेतृत्वमा टोली गठन गरी प्रहरीले सापकोटा र उनको नेटवर्कमाथि अनुसन्धान गरिरहेको छ। उनको घरबाट भेटिएको एक हजार चार सय अमेरिकी डलरको स्रोत नखुलेकाले त्यसमा नेपाल राष्ट्र बैंक ऐन आकर्षित हुन लागेको हो। साथै, उनी र उनकी श्रीमती कविता पाण्डेको खातामा शङ्कास्पद आर्थिक कारोबार भेटिएपछि उनीहरूका बैंक खाता रोक्का राखिएका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर सापकोटाले अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको अभियोग छ। गत ११ असोजमा प्रहरीले जबरालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। पछि सापकोटालाई भने थुनामै राखेर अनुसन्धान अघि बढाइएको हो। उनको नेटवर्कमा रहेका धेरै व्यक्तिलाई सोधपुछका लागि बोलाउने प्रहरीको तयारी छ। दबाबमुक्त अनुसन्धान भएमा यसमा धेरै उच्चपदस्थ व्यक्तिहरू तानिने सङ्केत देखिएको प्रहरी अधिकारी बताउँछन्। इनमसँगको शङ्कास्पद सम्बन्ध र गोप्य सूचना चुहाएको आरोपमा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई गत २० असोजमा सेवाबाट हटाउने निर्णय गरेको थियो।
न्यायाधीशले बिचौलियालाई विचाराधीन मुद्दाको विषयमा जानकारी दिनु र होटलमा भेटेर थप कुरा गर्ने प्रस्ताव गर्नु न्यायिक आचरणविपरीत देखिन्छ। न्यायाधीशहरूको आचारसंहिता, २०७४ को बुँदा ४.३ मा भनिएको छ, ‘न्यायाधीशले न्याय सम्पादनमा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि व्यक्तिसँग अनावश्यक रूपमा सम्बन्ध वा सम्पर्क बढाउनुहुँदैन।’ तर, फुयाल आफैँले मुद्दामा चलखेल गरिरहेको आरोप लागेका बिचौलिया सापकोटालाई भेट्न प्रस्ताव गरेका थिए। अनुसन्धानका क्रममा रहेको विषय भन्दै उनले यसबारे औपचारिक प्रतिक्रिया दिन चाहेनन्।
वरिष्ठ अधिवक्ता बाबुराम दाहालले न्यायाधीशले बिचौलियासँग कुरा गर्नु अक्षम्य अपराध भएको बताए। ‘सर्वोच्चका न्यायाधीशले त्यसरी बिचौलियासँग कुरा गरेको हो भने सिधै बदमासी देखियो। न्यायाधीशले कुनै पनि पक्षसँग मुद्दाको विषयमा कुरा गर्न मिल्दैन। यसको तत्काल छानबिन हुनुपर्छ र छानबिन नसकिएसम्म त्यस्ता न्यायाधीशलाई निलम्बन गर्नुपर्छ। यो अक्षम्य र गम्भीर अपराध भएकाले न्यायाधीश पदमा बस्न उपयुक्त हुँदैन,’ उनले भने, ‘न्यायालयलाई स्वच्छ र पवित्र बनाउने हो भने तत्काल फुलकोर्टको यसमा ध्यानाकर्षण हुनुपर्छ र गोला तान्न दिनुहुँदैन। अन्य न्यायाधीशले छानबिन नसकिएसम्म बेन्च सेयर पनि गर्नुहुँदैन। संसद्को पनि यसमा ध्यानाकर्षण हुनुपर्छ।’
नेपाल बारका अध्यक्ष विजयकुमार मिश्रले सरकारले न्यायपालिकालाई भ्रष्टाचारविहीन बनाउन चाहेको हो भने आफूहरूको साथ र सहयोग रहने बताए। ‘इनम सापकोटाको अहिले धेरै कुरा आइरहेको छ। यदि सरकारले न्यायपालिकालाई भ्रष्टाचारविहीन बनाउन चाहेको हो भने त्यसमा हाम्रो समर्थन रहेको छ। तर, यो सुशासनतर्फको कदम हो कि स्टन्टबाजी हो, प्रस्ट हुन सकेको छैन,’ उनले भने, ‘कुनै न्यायाधीशको विषयमा प्रमाण नहेरी हामीले बोल्न मिलेन। तर, न्यायपालिकालाई बिचौलियामुक्त बनाउनुपर्ने खाँचो भने छ। त्यसकारण इनम र न्यायपालिकासँग जोडिएका विषयमा को–कोको सम्पर्क देखिएको छ भन्नेबारे निष्पक्ष रूपमा अनुसन्धान हुन्छ भन्नेमा हामी आशावादी छौँ। खण्डित र चयनमुखी अनुसन्धान हुनुहुँदैन।’
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले न्यायपालिका छाडा भएको बताए। ‘पछिल्लो समय न्यायपालिका छाडा भएको छ। निगरानी गर्ने संयन्त्र छैन। त्यहीकारण यस्ता गतिविधि भएका हुन सक्छन्,’ उनले भने, ‘राजनीतिक दलहरूबाट पनि न्यायपालिकामाथि प्रहार भएको छ। राजनीतिक आडमै गलत व्यक्ति न्यायाधीश नियुक्त भएर नेतृत्वसम्म पुगेका छन्। न्यायपालिकाको व्यवस्थापन कसले गर्ने भन्ने अहिले प्रश्न खडा भएको छ। यसमा राज्य गम्भीर हुने बेला आइसकेको छ।’
जेलदेखि न्यायालयसम्मको नेटवर्क खोजी हुँदै
नयाँ सरकार गठन भएलगत्तै विवादास्पद कारोबारी दीपक भट्ट र उनको समूहले गरेको आर्थिक अपराधको छानबिन सुरु भएको थियो। यस क्रममा हालसम्म ६ वटा मुद्दा दायर भइसकेका छन्। भट्ट, उनलाई साथ दिने शंकर ग्रुपलगायतका व्यापारी यसमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बिमासम्बन्धी कसुर र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर भएका छन्।
विगतका शक्तिशाली व्यक्तिहरूमाथि मुद्दा दायर भएपछि उनीहरूले अदालतलाई प्रभावमा पारेर उन्मुक्ति पाउने प्रयास गरेको अनुसन्धानबाट देखिएको छ। यसमा बिचौलिया इनम सापकोटाले समन्वय गरेको हालसम्मको अनुसन्धानले देखाएको छ। आर्थिक लेनदेनका विषयसमेत देखिएपछि दीपकका दाइ सुशीललाई गत ३१ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ। यस प्रकरणमा दीपकसहित शंकरलाल अग्रवाल, सुलभ अग्रवाललगायत थुनामा छन्। शेखर गोल्छालगायत कतिपय व्यापारी धरौटीमा छुटेका छन् भने केही अझै फरार छन्।
विगतमा सत्ताको आडमा यो समूहले देशमा नीतिगत रूपमै वित्तीय अपराध गरेको आरोप छ। ती मुद्दालाई आफूअनुकूल बनाउन उक्त समूहले बिचौलिया सापकोटादेखि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत व्यक्तिसँग कुराकानी गरेको अनुसन्धानबाट खुलेको छ। दीपकले जेलबाटै चलखेल गरेको पाइएपछि उनलाई डिल्लीबजारबाट नक्खु कारागार हुँदै हाल सिन्धुपाल्चोक कारागार पठाइएको छ। उता, प्रहरीले इनमको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएर ‘सेटिङ’ र शङ्कास्पद कारोबारका विस्तृत प्रमाण सङ्कलन गरिरहेको छ।
फुयालले के भने?
फुयालले पनि समाचारको खण्डन गर्दै विवादास्पद व्यक्ति इनम सापकोटाले मुद्दामा प्रभाव पार्न खोजेपछि आफूहरू केही न्यायाधीशसहित प्रहरीसमक्ष मौखिक उजुरी दिएको दाबी गरेका छन्।
सापकोटासँगको आफ्नो सम्बन्ध र सार्वजनिक भएको ह्वाट्सएप संवादबारे बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूहरूले नै उजुरी गरेर सापकोटालाई पक्राउ गर्न लगाएको बताएका हुन्।
आफूले कुनै बदनियत नराखेको र सापकोटासँग कुनै ‘सेटिङ’ नगरेको दाबी गर्दै उनले आफूले गल्ती गरेको महसुस नगरेको बताए। फुयालले यस घटनालाई न्यायालय र सुरक्षा निकायमा प्रभाव पार्ने प्रयासको समग्र सन्दर्भमा हेर्न आग्रह गरे।
‘यसमा कुनै बदनियत छैन। त्यो मान्छेसँग कुनै सेटिङ गरेको छैन,’ उनले भने।
उनले सापकोटाले विभिन्न अदालतका न्यायाधीश, कर्मचारी, प्रहरी प्रशासन र सुरक्षा निकायका व्यक्तिहरूसँग गरेको सम्पर्क तथा प्रभाव पार्ने प्रयासबारे विस्तृत अनुसन्धान हुनुपर्ने बताए।
फुयालले थप रहस्य खोल्दै सापकोटाले आफूसँग जस्तै संवाद सर्वोच्च अदालतका चार–पाँच जना न्यायाधीश, विशेष अदालतका तीन–चार जना न्यायाधीश र उच्च अदालतका समेत केही न्यायाधीशसँग गरेको सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।