काठमाडौं– हजारौं निजामती कर्मचारीलाई हटाउने गरी संघीय निजामती सेवासम्बन्धी अध्यादेश ल्याउने र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाउने चर्चा चुलिएका बेला प्रधानमन्त्री वालेन्द्र शाह बालेनले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग लामो वार्तालाप गरेका छन्।
मुख्य सल्लाहकार कुमार बेनसहित रविको निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री बालेनले अध्यादेश र आईजीपीबारे आफ्नो योजना सुनाएका थिए। त्यसपछि उनीहरूबीच अध्यादेश र प्रहरी प्रमुख हटाउँदाको सम्भावित जोखिमबारे लेखाजोखा भएको प्रधानमन्त्रीनिकट स्रोतले नेपाललाइभलाई जानकारी दियो।
उनीहरूबीच निजामती अध्यादेशका कारण निजामती सेवामा सिर्जना हुने रिक्तता पूर्ति गर्ने विषयका साथै नयाँ मुख्यसचिव नियुक्तिबारे पनि छलफल भएको बताइएको छ। यस्तै, प्रहरी प्रमुखको विकल्पबारे गहिरो छलफल भएको स्रोत बताउँछ।
बुधबार दिनभरजसो रविसँग छलफलमा बसेकाले प्रधानमन्त्री सिंहदरबार नपुगेको बताइन्छ।
भारतको धार्मिक भ्रमण सकेर आइतबार नेपाल फर्केका रविसँगको भेटमा प्रधानमन्त्रीलाई भूराजनीतिक विषयमा समेत जानकारी गराइएको बताइएको छ।
प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। 'त्यसअघि छलफलका विषयवस्तु सार्वजनिक गर्न नसकिने' स्रोतको भनाइ छ।
भेटबारे दुवै नेताले औपचारिक जानकारी दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।