काठमाडौं। देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव रहने भएकाले आज देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
हाल देशभर सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ।
राति पनि देशभर अधिकांश बदली रहने पूर्वानुमान छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।