काठमाडौं- नेत्रविक्रम चन्द विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरुद्धमा १० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराइएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले किटानी जाहेरी दर्ता गराएकी हुन्।
पौडेलको हत्यामा संलग्न भएको आरोपमा पौडेलकी आमाले १० जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन्। यसका साथै गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न माग गरेकी छन्।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज पौडेल मारिएका थिए।
‘अन टेस्ट’ मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी थियो।
तर घटनास्थलको प्रकृति, उपस्थित मानिस, पौडेलको शरीरमा गोली लागेका ठाउँको विवरण, पोस्टमार्टम रिर्पोटलगायतका आधारमा आयोगले गरेको छानबिनमा पौडेलको मृत्यु आकस्मिक मुठभेडका कारण नभई प्रहरीको योजनाअनुसारै भएको पुष्टि भएको थियो।
आयोगले पटकपटक ताकेता गर्दा पनि जिल्ला अस्पताल सर्लाहीले पौडेलेको पोस्टमार्टम रिपोर्ट पठाएको थिएन। रिपोर्ट नपठाएपछि आयोगले अस्पतालका डाक्टर वीरेन्द्रकुमार मण्डलसँग पनि बयान लिने तयारी गरेपछि मात्र रिपोर्ट आयोगले पाएको थियो। पोस्टमार्टम रिपोर्टमा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिएको आयोगले बताएको थियो।
यो पनि
कुमार पौडेलकाे हत्यामा संलग्नलाई कारबाहीकाे माग गर्दै हुलाकमार्फत् किटानी जाहेरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।