काठमाडौं– कुमार पौडेललको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनकी आमाले हुलाकमार्फत् किटानी जाहेरी दिएकी छन्।
नेत्रविक्रम चन्द (विप्लव) समूहको सर्लाही इन्चार्ज पौडेलको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनकी आमा सीतादेवीले शुक्रबार हुलाकमार्फत् किटानी जाहेरी दिएकी हुन्। तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, वागमती नगरपालिकाका मेयर भरत थापालगायतलाई कारबाहीको माग गर्दै उनले किटानी जाहरी दिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयले बिहीबार जाहेरी दर्ता गर्न नमानेपछि सीतादेवीले शुक्रबार हुलाकमार्फत् जाहेरी पठाएकी हुन्। जाहेरीमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरक्षक सर्वेन्द्र खनाललाई अनुसन्धान गर्न माग गरिएको छ।
गत असार ५ गते लखन्देही खोलामा प्रहरीको गोलीबाट पौडेलको हत्या भएको थियो। प्रहरीले दोहोरो भिडन्तमा पौडेलको मृत्यु भएको जनाएपनि अधिकारकर्मी तथा प्रतिपक्ष दलले सरकारी धारणाको विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।