काठमाडौं– नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीले त्यसको खण्डन गरेको छ।
प्रहरीको उच्च कमान्डको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूले भ्रम सिर्जना गर्नुका साथै सुरक्षा जोखिमसमेत बढाउन सक्ने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जनाएका छन्।
काफ्लेको नाममा जारी प्रेस विज्ञप्तिको विवरण जस्ताको तस्तैः
हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित तथा प्रसारित भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ।
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आमनागरिकमा भ्रम तथा नकारात्मकता सिर्जना हुने, सुरक्षा जोखिम बढ्ने तथा नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, संगठनात्मक छवि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासमक्ष हार्दिक अनुरोध गर्दछ।
सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो। उक्त अधिकारको सम्मान गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, सूचनाको सत्यता सुनिश्चित गर्न तथा पत्रकारिताको व्यावसायिक आचारसंहिता एवम् नागरिकप्रति राज्यको चौथो अंगको जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरी सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अनुरोध गर्दछ।
सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित छ। नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध छ। साथै, यस्ता भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरूलाई निर्देशन दिइएको छ। आमनागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ।
नेपाल प्रहरी सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध जिम्मेवार सुरक्षा संगठन हो। प्रचलित कानुनबमोजिमको जिम्मेवारी पूरा गर्दै संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सक्रिय रहेको भन्ने धारणा बनाउने केही सीमित व्यक्तिहरूको चालबाजीविरुद्ध नेपाल प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
(अविनारायण काफ्ले)
प्रहरी नायब महानिरीक्षक
केन्द्रीय प्रहरी प्रवक्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।