काठमाडौं- मुद्दामा बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेर थुनामा रहेका इनम सापकोटाले सर्वोच्च अदालतका चार न्यायाधीशलाई होटलमा बोलाएर धम्की दिएको पाइएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइलको कनेक्सनबाट ११ असोजमा पक्राउ परेका सापकोटाको नेक्सस पूर्वप्रधानन्यायाधीशबाट बहालवाला न्यायाधीशसम्म विस्तार भएको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएप संवाद बाहिरिएसँगै सापकोटाको नेक्सस प्रधानन्यायाधीश मनोज शर्मादेखि बहालवाला सर्वोच्च अदालतका कम्तीमा चार न्यायाधीशसम्म पुगेको पुष्टि भएको छ।
न्यायाधीश फुयालले पनि बिहीबार केही पत्रकारसँगको कुराकानीमा यसको पुष्टि गरे। रोहित गुप्ताको मुद्दापछि हिमालयन होटलमा भेट्न पुगेका न्यायाधीशहरूलाई सापकोटाले ‘तपाईंहरूविरुद्ध महाभियोग लाग्ने र अब रोक्न नसकिने’ भन्दै चेतावनी दिएका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिँदै कर्कश स्वरमा न्यायाधीशहरूलाई भनेका थिए। बिचौलिया सापकोटा, दीपक भट्ट नछुटेको रिसमा न्यायाधीशहरूविरुद्ध उच्च स्वरमा बोलेका थिए।
‘म अरू कसैको नाम लिन चाहन्नँ। तर त्यो दिन म एक्लै थिइनँ। भेटमा ती व्यक्तिले “तपाईंहरूसँग प्रधानमन्त्री खुसी हुनुहुन्न। महाभियोग अघि बढ्ने भयो” भन्ने गरी लाउड भ्वाइसमा भनेका थिए,’ न्यायाधीश फुयालले उक्त दिनको घटना सुनाए, ‘त्यसपछि हामीलाई यी मानिसप्रति झन् शङ्का बढ्यो। त्यसपछि मैले आईजीपीको सचिवालयमा यो मानिसका बारेमा सोधेँ र उनको समेत नाम लिएको कुरा अनौपचारिक रूपमा राखेँ। उताबाट “उनी हाइप्रोफाइलसँग सम्बन्ध देखिएका व्यक्ति हुन्, बी केयरफुल” भनी सन्देश आयो।’
बिचौलिया इनमले होटलको बिल न्यायाधीशहरूले तिर्न खोज्दा अरू कसैको नाममा राख्न लगाएका थिए।
आईजीपीको सचिवालयको सन्देश : ‘बी केयरफुल’
इनमको गतिविधिमा शङ्का लागेपछि न्यायाधीशहरूले आईजीपी दानबहादुर कार्कीको सचिवालयमा सूचना पुर्याएका थिए। सचिवालयले पनि आफूहरू जोगिएर बसेको र न्यायाधीशहरूलाई समेत जोगिएर बस्न भनेको थियो। उनी हाइप्रोफाइल व्यक्तिहरूसँग सम्बन्धित भएकाले कारबाही गर्न सम्भव नभएको सन्देश पठाइएको थियो।
‘यति भनेपछि हामीलाई थप त्रास र प्रेसर फिल भयो। कांग्रेसको मुद्दापछि उसले सबैभन्दा धेरै जोड दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको निवेदनमा गरेको थियो,’ फुयालले सुनाए, ‘उसले भनेअनुसार भएन। त्यसलगत्तै हामीले प्रधानसेनापति र प्रधानमन्त्रीको सचिवालयमा यो मानिसका बारेमा विस्तृत विवरण पठाएर जानकारी माग गर्यौँ। प्रधानमन्त्रीका तर्फबाट भनी यहाँ दबाब दिइरहेको कुरा हामीले फोटो अनि हामीसँग भएका प्रमाणसहित प्रधानमन्त्रीको सचिवालयमा पठायौँ।’
जवाफमा प्रधानमन्त्री कार्यालयले यो मानिसका बारेमा आफूहरूले पनि हल्ला सुनेको, तर कतै देखेको वा चिनजान भएको जानकारी नभएको बताएको थियो।
तपाईंले प्रधानमन्त्री कार्यालयमा के–के कुरा पठाउनुभयो भनी सोधिएको प्रश्नमा फुयालले इनमको फोटो, सम्पर्क नम्बर अनि आफूहरूसँग भएका सबै सञ्चार विवरण खुलाएर पठाएको बताए।
त्यसको केही दिनपछि चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको कुरा सार्वजनिक भएको थियो। त्यसको केही दिनपछि इनम पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।