५ वटा बैंकका एटिएम ह्याक भएको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले बनायो टोली

डेपुटी गभर्नर भन्छन्, 'जनताको पैसा जोखिममा छैन'
नेपाल लाइभ | २०७६ भदौ १५ आइतबार | Sunday, September 01, 2019 १९:१३:०० मा प्रकाशित

काठमाडौं- पाँचवटा वाणिज्य बैंकको एटिएम ह्याक गरी रकम लुट्ने प्रयास भएको विषयमा छानविन गर्न नेपाल राष्ट्र बैंकले टोली गठन गरेको छ। कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा गठित पाँच सदस्सीय टोलीलाई ३ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस घटनाको प्रारम्भिक अध्ययन भइरहेको र थप विवरण बुधबारसम्ममा आउने जानकारी दिए। 'हामीले अध्ययन टोली बनाएका छौँ, अबको तीन दिन भित्रमा यसबारे अध्ययन प्रतिवेदन आउनेछ,' उनले भने, 'त्यसपछि विस्तृत विवरण सार्वजनिक हुनेछ।'

वाणिज्य बैंकहरुको सूचना प्रविधि व्यवस्थामै जोखिम रहे/नरहेको अध्ययन गरिने पनि उनले जानकारी दिए। 'शनिबार भए पनि बैंकहरुले प्रणालीमाथिको निगरानी गरि नै रहेका रहेछन्,' उनले भने, 'अहिलेसम्म जनताको पैसामा जोखिममा छैन, हामी पनि सुक्ष्म निगरानीमा छौँ, बैंकहरु पनि लागिरहेका छन्।' 

चिनियाँ ह्याकरको समूहले नबिल बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंक र प्रभु बैंकको एटिएम ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटेका थिए। प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि यो घटना बाहिर आएको हो।