नेपाली फुटबलमा शीतयुद्ध अनौठो कुरा होइन। अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र आफ्नो हुकुम चलाउन खोज्ने र विदेशीलाई कमजोर भौतिक संरचना देखाएर बजेट ल्याउने अनि आफू मोटाउने प्रवृत्ति पुरानै हो।
अहिले पनि नेपालको फूटबललाई कतारले सहयोग गरिरहेको छ। कुवेती प्रशिक्षक अब्दुलाह अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्। उनी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएदेखि सुरु भएको शीतयुद्ध नेपाल साफ च्याम्पियनसीपको फाइनल पुगेपछि सकिएको थियो। तर, एन्फामा एक पक्षले अर्कोलाई गालीगलौज गर्नु फेसन जस्तै बनिसकेको छ। नेतृत्व तहका पदाधिकारीहरू फुटबलको समग्र विकासभन्दा पनि व्यक्तिगत ‘लाभ र हानी’ मा केन्द्रित हुँदा नेपाली फुटबलले जति गति लिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन।
प्रशिक्षक अल्मुताइरीको नियुक्तिसँगै एन्फाका एकथरी पदाधिकारीले उनीप्रति देखाएको व्यवहार आपत्तिजनक मात्र थिएन, नेपाली फुटबललाई असफल बनाउने योजनाअन्तर्गत गरिएको खेल थियो भन्ने कुरा प्रमाणित जस्तै भइसकेको छ। अझ उनको बर्हिगमनका लागि एन्फाका कतिपय पदाधिकारीले पदबाट राजीनामा गरेर चर्को दबाब दिन खोजेका थिए। त्यसका बाबजुद आफ्नो लक्ष्यमा अविचलित भई अल्मुताइरीले २८ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नेपाललाई फाइनलसम्म पुर्याएर आफूलाई प्रमाणित गरिसकेका छन्।
उनले आफूलाई प्रमाणित गर्नुअघि प्रशिक्षक पदबाट तीन पटक राजीनामा गरेका थिए। काम गरेर देखाउने लक्ष्यसहित नेपाल आएका अल्मुताइरीलाई एन्फा भित्रैबाट खुट्टा तान्ने प्रयास भएपछि उनले राजीनामा गरेका थिए। यसले उनलाई मानसिक रूपमा कति असर पार्यो, त्यो विगतको घटनाले प्रष्टाइसकेको छ।
साफ च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशविरूद्ध १–१ गोलको बराबरी खेलेपछि उनले नेपाल नफर्किने बताएका थिए। तर, यतिबेला कतार फुटबल संघको पहलमा उनी पुनः नेपाल मात्र फर्किएका छैनन्, तीन वर्षका लागि राष्ट्रिय टोलीसँग सम्झौता पनि गरिसकेका छन्।
दुई साताअघि नेपाल फर्किएका अल्मुताइरीले अबको तीन वर्षमा नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्याउने वाचा गरेका छन्। कुवेत र कतारजस्ता खाडी मुलुकको जस्तो भौतिक संरचना र सेवा सुविधा नखोजेका अल्मुताइरी यस पटक पहिलाभन्दा झन् महत्वकांक्षी देखिन्छन्।
प्रशिक्षक नियुक्त भएको करिब सात महिनाभित्र नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याएका अल्मुताइरी दोस्रो कार्यकालमा नेपाली फुटबलको दिशा परिवर्तन गर्न चाहन्छन्। उनीलाई अहिले खेलाडी र समर्थकको उत्तिकै समर्थन छ। एन्फाका केही पदाधिकारीलाई छोडेर कुरा गर्ने हो भने, पूरै राष्ट्र उनको पक्षमा देखिन्छ।
उनको अगाडि अबको चुनौती भनेको नेपाली फुटबल समर्थकले गरेको अपार विश्वासलाई प्रमाणित गर्नु हुनेछ। पहिलो पटक नेपाल आउँदा उनले आफ्नो तीन वटा लक्ष्य रहेको बताउँदै पत्रकार सम्मेलनमा भनेका थिए– नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पुर्याउने, एसिया कप छनोटको तेस्रो चरण प्रवेश गर्ने र राष्ट्रिय टिमलाई थप सशक्त बनाउने।
उनले सात महिनाको अवधिमा यी सबै वाचा पूरा गरिसकेका छन्। तर, नेपाल आउनेबित्तिकै उनले आफ्नो लक्ष्य बताउँदै प्रायः सबै हास्ने गर्थे। अहिले यी सबै वास्तविकतामा परिणत भइसकेका छन्।
उनीभन्दा अगाडि १२ जना प्रशिक्षकले नेपाललाई साफको फाइनल पुर्याउन जोडतोडका साथ मिहिनेत गरेका थिए। तर, कोही पनि यो उपलब्धी चुम्न सफल भएका थिएनन्।
उनी प्रशिक्षक नियुक्त हुनुअघि राष्ट्रिय टोलीका केही खेलाडी खेलले नभएर नामले छनोट हुने गर्थे। उनले त्यो परिपाटीलाई भत्काउँदै युवा प्रतिभालाई प्रोत्साहित गरे। जसको नतिजा अहिले आयुष घलान, अन्जन बिष्ट, मनिष डाँगी, तेज तामाङ, पुजन उपरकोटी र सुमन अर्याल जस्ता प्रतिभाको जन्म भएको छ। उनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणको दोस्रो इनिङ्सका लागि पनि आफ्नो कार्यक्रम प्रस्तुत गरिसकेका छन्।
जसमा उनले साफ च्याम्पियनसिपको उपाधि जित्ने चाहनालाई शीर्षस्थानमा राखेका छन्। यस्तै केही वर्षमा नेपाललाई एसिया कपमा छनोट गराउने लक्ष्य पनि राखेका छन्। यसका लागि उनले ६ पानाको योजना सार्वजनिक गरेका छन्।
नेपालले यसपटक एसिया कप छनोटको तेस्रो चरण खेल्दैछ। त्यसको निश्चित कार्यक्रम आउन बाँकी छ। छनोटको ‘ड्र’ सार्वजनिक भएको छैन। फिफा वरीयताको १६९ औं स्थानमा रहेको नेपाल चौँथो ‘पट’ मा परेको छ।
अब जुनमा हुने भनिएको छनोटका खेल सम्भवतः सेप्टेम्बरतिर हुन सक्नेछ। प्रशिक्षक अल्मुताइरीले त्यसैअनुसार राष्ट्रिय टिमको प्रशिक्षणको वृहत् कार्यक्रम बनाएका छन्।
उनले यसअघि बनाएको टोली राम्रो हुँदाहुँदै पनि फिटनेस र फिनिसिङमा कमी देखिएको छ। डिफेन्समा पनि केही अभाव महसुस भएको थियो। यसैले अबको उनको योजना नयाँ खेलाडीको खोजी गर्नु हुनेछ। यसका लागि उनले नेपालमा जन्मिएका, तर अवसर नपाएर विदेशी भूमिमा खेलिरहेका केही खेलाडीको सूची पनि बनाएका छन्। उनकै आग्रहमा इटालीबाट व्यवसायिक फुटबल खेलिरहेका नेपाली मूलका विकास मेराग्लिया यसपालि लिग खेल्न नेपाल आइसकेका छन्।
सेप्टेम्बर अगाडि उनले सात चरणमा राष्ट्रिय टिमको अभ्यास र प्रशिक्षणको कार्यक्रम बनाएका छन्। उनले कम्तीमा २६ र बढीमा ३६ खेलाडीलाई बोलाउने पक्का छ। उनी अहिले गोलरक्षक किरण चेम्जोङको विकल्पका साथै थप डिफेन्डरको खोजीमा छन्। नेपालका नम्बर १ गोलकिपर किरण घाइते हुँदा उनीजस्तै क्षमतावान गोलरक्षकको कमी देखिएको छ।
साथै, साफ च्याम्पियनसिपमा नेपाली डिफेन्स लाइनअप उनले तयारी गरेजस्तो देखिएन। अट्याकिङ फुटबलमा विश्वास राख्ने अल्मुताइरी रोहित चन्द जस्तै मिड र डिफेन्स दुवै स्थानबाट खेल्न सक्ने प्रतिभावान खेलाडीको खोजीमा छन्।
नेपाली खेलाडीले पर्याप्त लिग खेल्न नपाएर खेलाडीको लय बिग्रेको अल्मुताइरीले राम्रोसँग बुझेका छन्। मुस्किलले तीन महिना लिग हुँदा राम्रो खेलाडी उत्पादन नहुने उनको तर्क छ। हाल जति खेलाडी उत्पादन भएका छन्, उनी ती खेलाडीलाई राम्रो सुविधा दिएर प्रशिक्षण गराउन चाहन्छन्। उनी आयुष, अन्जन, पुजन र मनिष जस्ता भरपर्दा खेलाडीलाई विदेशी क्लबमा अनुबन्धन गराएर प्रशिक्षण गराउन चाहन्छन्।
राष्ट्रिय टोलीसँग थप तीन वर्षका लागि अनुबन्ध गर्ने क्रममा उनले खेलाडी मात्र नभएर, फिजियो र नेपाली प्रशिक्षकलाई पनि विदेशमा प्रशिक्षणको अवसर सिर्जना गर्ने धारणा राखेका छन्। यसका साथै सन् २०२२ को ‘फिफा डे’ को अवसर पारेर उनले चार वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गर्ने योजना पनि बनाएका छन्। अब नेपालले खेल्ने टिम अझ बलियो र फिफा वरीयताको माथिल्लो स्थानको हुने उनले दाबी गरेका छन्।
यसअघि उनले कुवेतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउने वाचा गरेका थिए। यसपालि उनी सार्क टिमबाहेक अन्य टोलीसँग मैत्रीपूर्ण खेल खेलाउने तयारीमा छन्। सार्क टोलीको स्तर समान भएका कारण अल्मुताइरी आफूभन्दा अब्बल टोलीसँग मैत्रीपूर्ण खेल खेलाउन चाहन्छन्।
त्यसाे त उनले इराक र ओमान जस्ता बलिया टोलीसँग राष्ट्रिय टोलीको खेल खेलाइसकेका छन्। उनकै क्षमताका कारण कजाकिस्तान र प्यालेस्टाइनजस्ता देश नेपालसँग खेल्न इच्छुक देखिएका थिए।
समग्रमा भन्नुपर्दा, उनी दोस्रो इनिङ्समा झन् बढी महत्वकांक्षा बोकेर नेपाल आएका छन्। उनको महत्वकांक्षा कति सफल हुने हो, त्यो समयले बताउला। अहिलेका लागि ‘अल द बेस्ट’ अल्मुताइरी!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।