बंगलादेशले (दक्षिण एशियाली खेलकुद) प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा लामो समय कुनै निर्णय गर्न सकेन। नेपाल दक्षिण एशियाली खेलकुदको योजनाकार थियो। बंगलादेशको विलम्बका कारण शरदचन्द्र शाह छटपटाउन थालिसकेका थिए। उनलाई लाग्यो– बंगलादेशका कारण नेपालको योजना तुहिने त होइन?
यसैबीच उनी भारतीय ओलम्पिक कमिटीका अध्यक्ष पटियालाका राजा भलिन्दर सिंहसँग कुराकानी गर्न पुनः दिल्ली उडे। शाहको पटियालाका राजासँग गहिरो सम्बन्ध थियो। उनले सिंहसँगको भेटमा दक्षिण एशियाली खेलकुद आयोजना गर्ने सम्बन्धमा बंगलादेशको विलम्बको सविस्तार चर्चा गरे। आफ्नो सपना तुहिने डर हटाउन सुझाव मागे, ‘अब के गर्ने ?’
यतिवेला निरास भएका शाहलाई उत्साहित तुल्याउन पटियालाका राजाले भने, ‘तिमीहरू (नेपाल) ले सक्छौ भने किन कुरेर बस्नु। खेलकुद आयोजना गर्ने पहलकदमी तिमीहरूले पनि गर्दा भइहाल्छ नि।’
भेटघाटका क्रममा पटियालाका राजाले पहिलो दक्षिण एशियाली खेलकुदको परिकल्पनाकार हुनुको नाताले नेपालले सुरुवात गर्दा के बिग्रिन्छ ? भन्दै शाहको महत्वाकांक्षा झन् बढाइदिए। उनले शाहलाई अग्रिम शुभकामना दिँदै भने, ‘नेपालले आयोजनाको जिम्मा लिन्छ भने म नेपालको निर्णयको पक्षमा उभिनेछु।’
उनले भारतीय खेलाडी पठाएर सहयोग गर्ने आश्वासन पनि छलफलकै क्रममा दिए। अध्यक्ष सिंहको सकारात्मक सुझाव सुनेपछि शाहको आत्मविश्वास चुलियो। उनी नेपाल फर्किएर सिधै राजा वीरेन्द्रलाई भेट्न नारायणहिटी पुगे। राजा वीरेन्द्रसँगको भेटमा उनले बंगलादेशको तत्कालीन अवस्था र भारतीय ओलम्पिक कमिटीका अध्यक्षसँग भएको कुराकानीको विस्तृत सुनाए। यतिवेला उनले आफ्नो सबै योजना राजा वीरेन्द्रसमक्ष प्रस्तुत गरे र प्रतियोगिताका लागि ४० लाखको हाराहारीमा खर्च लाग्ने जानकारी गराए।
केही दिनपछि दरबारबाट खबर आयो, नेपालले प्रतियोगिताको जिम्मेवारी पाउँछ भने अगाडि बढ्नू। अर्थात् शाहको प्रस्तावमाथि दरबारको मोहर लाग्यो। राजा वीरेन्द्र सकारात्मक देखिए।
दरबारको सकारात्मक प्रतिक्रियापछि शाह दक्षिण एशियाली खेलकुदको पहिलो प्रतियोगिता नेपालमै आयोजना गराउने अभियानमा कस्सिएर लागे। यही क्रममा २० असोज २०४० सालमा नेपालको चर्चित अंग्रेजी अखबार ‘दि राइजिङ नेपाल’ को अन्तिम पृष्ठमा एउटा समाचार प्रकाशित भयो। लेखकको नाम उल्लेख नभएको यो समाचारको शीर्षक थियो, ‘नेपालले पहिलो दक्षिण एशियाली खेलकुद आयोजना गर्न सक्ने।’
समाचारमा स्रोत भनेर राखेपको शीर्ष नेतृत्वलाई उद्धृत गरिएको थियो, तर कसैको नाम उल्लेख थिएन। नेपाली खेलकुदमा चासो राख्ने जो कोहीलाई यो बुझ्न गाह्रो थिएन, त्यो समाचारको स्रोत स्वयम् शरदचन्द्र शाह थिए। तत्कालीन अवस्थामा राइजिङ नेपालमा वरिष्ठ खेल संवाददाताको रूपमा काम गरिरहेका पी खरेल भन्छन्, ‘न्युजका स्रोत शरदचन्द्र शाह नै थिए, तर दक्षिण एशियाली महासंघको बैठकबाट नेपाललाई प्रतियोगिता आयोजना गर्न दिने निर्णय नभइसकेका कारण शाहको नाम उल्लेख गर्न गाह्रो परेको हो।’
‘राइजिङ नेपाल’ ले समाचारमा उल्लेख गरेको थियो, ‘बंगलादेशले विभिन्न परिस्थिति देखाउँदै दक्षिण एशियाली खेलकुद महासंघलाई प्रतियोगिता आयोजना गर्न असमर्थता जनाइसकेको छ। शरद ऋतुमा काठमाडौंमा आयोजना भएको (२३औं) एशियन युथ कप (समूह ए) फुटबल प्रतियोगिताबाट प्रभावित भएर साफका सदस्य राष्ट्रहरूले नेपाललाई क्षेत्रीय खेलकुद प्रतियोगिताको पनि जिम्मेवारी लिन अनौपचारिक प्रस्ताव गरेका छन्।’
नयाँ खेल स्थलको विषयमा आउँदो महिना बस्ने महासंघको कार्यकारी समितिको बैठकले टुंगो लगाउने समाचारमा उल्लेख थियो। यही सन्दर्भमा उच्च स्रोतलाई उल्लेख गर्दै पत्रिकाले लेखेको थियो, ‘यदि सबै सदस्य राष्ट्र सहमत भएको खण्डमा हामी (नेपाल) पछाडि हट्नेछैनौं। हामी प्रतियोगिता आयोजना गर्नेछौं।’
प्रतियोगिता नेपालले आयोजना गर्ने सम्बन्धमा अंग्रेजी वर्ष समाप्त हुन लागेका कारण सन् १९८३ को डिसेम्बर अर्थात् २०४० सालको पुस मसान्तसम्म असम्भव रहेको बताइएको थियो।
नेपालले २०४० चैतको दोस्रो सातादेखि पोखरामा दोस्रो बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै थियो। त्यसैले १९८४ को मार्च–अप्रिलसम्म प्रतियोगिता गराउन असम्भव हुने हुँदा २०४१ सालको वैशाख उपयुक्त हुने ठहर गरिएको थियो।
नभन्दै समाचार प्रकाशित भएको एक महिनापछि कुवेतमा ओसीएको बैठक बस्यो। बैठकमा भाग लिन १६ कार्तिक २०४० सालमा शाह कुवेत उडे। ओसीएको यही बैठकमा भाग लिन जाँदा दक्षिण एशियाली खेलकुद महासंघको दोस्रो कार्यकारी बैठक १९ कार्तिकमा महासंघका अध्यक्ष बंगलादेशका सिद्दिकी अहमदको अध्यक्षतामा बस्यो।
बैठकमा नेपालबाट शाह र अनुप शमशेर, भारतबाट भलिन्दर सिंह, पाकिस्तानबाट शैयद वाजिद अली शाह र नकी बट, श्रीलंकाबाट रोय डिसिल्भा (डिसिल्भा केही समयअघि श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष निर्वाचित भएका थिए), माल्दिभ्सबाट जाहिर नासिर र आगन्तुक सदस्यका रूपमा भुटानबाट दावा छिरिङको उपस्थिति थियो। यही बैठकले भुटानलाई पनि दक्षिण एशियाली खेलकुद महासंघको सदस्यता प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गर्यो। भुटानको आबद्धतासँगै अफगानिस्तानलाई छोडेर दक्षिण एशियाका ७ वटै राष्ट्र महासंघमा सम्मिलित भए।
७ राष्ट्रका प्रतिनिधि सहभागी बैठकमा सिद्दिकीले पहिलोपल्ट आधिकारिक रूपमा प्रतियोगिता आयोजना गर्न बंगलादेश असमर्थ रहेको जानकारी गराए।
महासंघ गठन गर्दा अंग्रेजी वर्णानुक्रमअनुसार अगाडि पर्ने देशले प्रतियोगिता आयोजना गर्दै जाने नियम बनेको थियो। त्यसैले बंगलादेशको असमर्थताको अर्थ थियो, प्रतियोगिता आयोजनाको जिम्मेवारी भारतमा सर्नु। यो सन्दर्भमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष शाह र भारतीय ओलम्पिक कमिटीका अध्यक्ष सिंहबीच पहिले नै समझदारी भइसकेको थियो। फेरि भारतले एक वर्षअघि मात्र दिल्लीमा एशियाली खेल जस्तो प्रतिष्ठित प्रतियोगिताको आयोजना गरेका थियो। पाकिस्तानसँग पनि चिसिएको सम्बन्धका कारण प्रतियोगिता सफल नहोला कि भन्ने डर भारतलाई थियो। योभन्दा पनि ठूलो कुरा भारत सरकार र भारतीय ओलम्पिक कमिटीबीच त्यतिवेला शीतयुद्ध चलिरहेको थियो।
त्यसैले बैठकमा सहभागी सिंहले पहिलो दक्षिण एशियाली खेलकुद आयोजना गर्ने विषयमा खासै रुचि देखाएनन्। नेपालले नै यो प्रतियोगिता आयोजना गरोस् भन्ने उनको चाहना पनि थियो। त्यसैले उनले अस्वीकार गरे।
भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात उठायो। यसपछि नेपालले प्रतियोगिताको जिम्मा लियो। शाहको प्रस्तावको सबै सदस्य राष्ट्रले हार्दिकतापूर्वक स्वागत गरे।
यही बैठकमा पहिलो दक्षिण एशियाली खेलकुदको नयाँ मिति पनि तय भयो। ‘राइजिङ नेपाल’ को समाचारमा उल्लेख भएसरह प्रतियोगिताको मिति तोकियो, १८ वैशाख २०४१ साल।
(पत्रकार नवीन अर्यालको प्रकाशोन्मुख पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ बाट। पुस्तक आज (मंगलबार)बाट सार्वजनिक हुँदैछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।