काठमाडौं– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेकोविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगको नाममा आदेश जारी गरेको हो ।
अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकलाई स्थानहद तोक्नु कानून विपरीत हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीवारे जाँचबुझ गर्न गठन भएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीविना काठमाडौं उपत्यका छाड्न नदिने निर्णय गरेको थियो ।
तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि त्यस्तै निर्णय भएपनि सरकारी कामकाजका लागि उनी बाहिर जानुपर्ने भन्दै सरकारले स्थानहद फुकुवा गरेको थियो ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।