काठमाडौं- सोमबारको नेपाल लाइभमा कोरोना भाइरसबाट उत्पन्न जटिलतासँग सम्बन्धित सामग्रीहरु नै बढी प्राथमिकतामा रहे। कोरोनासँग सम्बन्धित तथ्यांकका अतिरिक्त अक्सिजनको अवस्था, निषेधाज्ञा, चिकित्सक संघको सुझाव लगायतका विषयहरु प्रकाशित भए।
त्यस्तै, राजनीतिसँग सम्बन्धित विषयहरु पनि सोमबारको प्रमुख समाचार अन्तर्गत नै रहे। गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव टेबल, कर्णालीका चार प्रदेश सभा सदस्य पदमुक्त तथा एमालेका माधवकुमार नेपाल पक्षले सर्वोच्चमा पेश गरेको रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएका प्रसंगहरुमा आज चासो देखियो।
सोमबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:
मन्त्रिपरिषद् बैठक
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गतेदेखि नेपाल-भारत सीमा बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै, संक्रमितको अवस्था हेरेर २०० भन्दा बढी सक्रिय संक्रमित देखिए जुनसुकै जिल्लाले पनि निषेधाज्ञा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यी लगायत देशभरका विद्यालय बन्द गर्ने, अन्तर्राष्ट्रिय उडानमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय पनि गरिएको छ।
सम्बन्धित समाचारः
मन्त्रिपरिषदको निर्णय - सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा
भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय
काठमाडौंमा १६ गतेदेखि निषेधाज्ञा
काठमाडौंमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार साँझ जारी गरेको आदेश अनुसार सार्वजनिक यातायात सञ्चालनमा समेत रोक लगाइएको छ। त्यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखना आदि सञ्चालन गर्न नपाइने भएको छ।
सम्बन्धित समाचारः
काठमाडौंमा १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी, सार्वजनिक यातायातमा रोक
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबल
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबल (https://www.facebook.com/2021490501407325/videos/139699871391303 ) भएको छ। सोमबार सुरु भएको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव टेबल गरेका हुन्। उनले आफ्नो सम्बोधनमा सरकार असंवैधानिक र अल्पमतको भएको भन्दै उसले संसद्लाई छल्ने प्रवृत्तिको देखिएको बताए। अविश्वासको प्रस्तावमाथि सोमबारदेखि नै छलफल प्रारम्भ भएको छ। प्रदेश सभाको अर्को बैठक वैशाख १४ गते दिनको १२:१५ का लागि तोकिएको छ।
सम्बन्धित समाचारः
गण्डकी प्रदेश सभा : मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्ताव टेबल
गण्डकीका प्रस्तावित मुख्यमन्त्रीको दाबी : प्रदेश सरकार असंवैधानिक छ
केन्द्रीय सरकारको मतियार बनेकाले अविश्वासको प्रस्ताव : प्रस्तावित मुख्यममन्त्री पोखरेल
एमालेका चार प्रदेश सभा सदस्यले गुमाए पद
कर्णाली प्रदेशका एमालेका चार प्रदेश सभा सदस्यले पद गुमाएका छन्। गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतमाथि भएको मतदानमा 'फ्लोर क्रस' (यी हुन् कर्णालीमा 'फ्लोर क्रस' गर्ने एमाले प्रदेशसभा सदस्यहरू) गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो। नेकपा एमाले कर्णाली प्रदेश सभाका सचेतक गुलावजङ्ग शाहले प्रदेश सभा सचिवालयमा कारबाहीको पत्र दर्ता गराएका थिए। प्रदेशसभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन्।
सम्बन्धित समाचारः
कर्णालीमा फ्लोर क्रस गरेका एमालेका चार सांसद पदमुक्त
'अहिले अक्सिजन अभाव छैन'
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाले महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग पहिलेको तुलनामा बढेको भए पनि मागअनुसार आपूर्ति पनि भइरहेको बताएका छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले अहिलेको अवस्थामा अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्ने बताए। काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको उनले बताए। नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुने र महामारीका बेला त्यस्ता उद्योग बन्द हुने भएकाले मेडिकल प्रयोजनका लागि अक्सिजनको अभाव नहुने अध्यक्ष शारडाको भनाइ छ।
सम्बन्धित समाचारः
अक्सिजन उत्पादक भन्छन्– ‘अभाव छैन, आत्तिएर घरमा भण्डारण गर्नतिर नलाग्नुस्’
'ग्यासको अभाव हुन लागेको होइन'
एलपी ग्यास संघले खाली सिलिन्डर घरमा नराख्नु, ग्यास तत्काल भर्नू भन्ने सूचना प्रकाशित गरेको भए पनि बजारमा ग्यास अभाव भने नभएको प्रष्ट भएको छ। कोभिडको लहर फैलिँदै गएपछि त्यसले आपूर्ति र वितरणको पाटोमा समस्या नआओस् भनेर सूचना जारी गरेको ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले नेपाल लाइभलाई बताए। ‘विगतगको जस्तो समस्या पुनः भोग्न नपरोस् र व्यवसायीले पनि बजारमा रहेको खाली सिलिन्डरमा अहिले आएको ग्यास भर्न पाउन् भन्ने नै हाम्रो धारणा हो’, उनले भने।
सम्बन्धित समाचारः
के ग्यास आपूर्तिमा समस्या छ, उद्योगीले किन जारी गरे खाली सिलिन्डर भर्ने सूचना?
नेप्से निरन्तर ओरालो
सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको गिरावट आएको छ। कोरोना संक्रमण तीव्र बनेसँगै सरकारले लकडाउन गर्ने हल्ला चलेपछि हिजो (आइतबार) सेयर बजारमा उच्च अंकको गिरावट देखिएको थियो, जुन क्रमले सोमबार (आज) पनि निरन्तरता पायो। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६५.५८ अंकले घटेर २५०६.६२ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले घटेको छ। सेन्सेटिभ ११.२५ अंकले घटेर ४५२.८० विन्दुमा कायम भएको छ।
सम्बन्धित समाचारः
नेप्से निरन्तर ओरालो : ६५.५८ अंकले घट्यो, साढे ६ अर्बको कारोबार
त्रिविको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको परीक्षा स्थगित गरेको जानकारी दिएका हुन्। योसँगै वार्षिक तथा समेस्टर प्रणालीका स्नातक, स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका सबै परीक्षा स्थगित भएको छ। अर्को सूचना जारी नभएसम्म परीक्षा नहुने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले जनाएको छ।
सम्बन्धित समाचारः
त्रिविले स्थगित गर्यो पूर्व निर्धारित परीक्षा
माधव नेपाल पक्षको रिटमा कारण देखाऊ आदेश
सर्वोच्च अदालतले बुधबार कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशले प्राथमिकता(अग्राधिकार) दिने निर्णय पनि गरेको छ। तर, निवेदनमा माग भए अनुसारको अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरिएको छ।
सम्बन्धित समाचारः
माधव नेपाल पक्षको रिट दर्ता, आइतबार पेशी
सर्वोच्चले सोध्यो : माधव नेपालसहितलाई किन कारबाही गर्न खोजियो? लिखित जवाफ देऊ
सर्वोच्चद्वारा माधव नेपाल पक्षको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार
थप ३४४२ मा कोरोना संक्रमित, १२ को मृत्यु
सोमबार देशभर थप ३ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल १२ हजार ४ सय जनामा पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौं उपत्यकामा एकैदिन १९ सय १२ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचना अनुसार, सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार कुल ३ सय ७८ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर अहिलेसम्म ३ लाख ३ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ३ हजार १ सय ७६ जनाको मृत्यु भएको छ।
सम्बन्धित समाचारः
थपिए ३ हजार ४४२ कोरोना संक्रमित
उपत्यकामा एकै दिन थपिए १९ सय १२ काेराेना संक्रमित
चिकित्सक संघको १८ बुँदे सुझाव
नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ। संघको कार्यालयमा भएको विज्ञहरुसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो। संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्दै उक्त जिल्लामा लकडाउन गरेर संक्रमितको सहज उपचारको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
सम्बन्धित समाचारः
चिकित्सक संघको १८ बुँदे सुझाव : स्वास्थ्य संकटकाल घोषणादेखि लकडाउनसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।