



काठमाडौं – झुठा उजुरी दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ बस्ने दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ ।
मगरले अर्कै व्यक्तिको नाममा आयोगमा झुठा उजुरी दिएको पुष्टि भएपछि जरिबाना गरिएको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘दीपक पुन मगरले यस आयोगमा झुट्टा उजुरी दिएको तथ्य पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायतको प्रचलित कानुनबमोजिम दुई हजार रूपैयाँ जरिबाना गरिएको’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
एबी राई (आङबाबु राई)का नाममा कार्यालयमा नेपाल प्रहरीको डीआईजी बताउने एक व्यक्तिले आफू अध्यक्ष रहेको सहकारीबाट ऋण लिएको उजुरी परेको थियो ।
आफूविरुद्ध परेका उजुरी मिलाइदिने भन्दै ती डीआईजीले ४० लाख रुपैयाँमध्ये १५ लाख नगद र कान्छी श्रीमतीको नाममा थप लिई धम्की दिएर रकम मागेको उजुरीमा उल्लेख गरिएको थियो ।
‘अनुसन्धान हुँदा एबी राईको नामबाट उक्त उजुरी दर्ता भएता पनि राईले आफूले नदिएको र उजुरीमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको बयान दिएकाथिए । थप अनुसन्धान हुँदा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ बस्ने मगरले २०८३ असार १७ गते आयोगसमक्ष उक्त उजुरी आफूलेनै एबी राईको नामबाट दिएको भनी स्वीकार गरेको आयोगले बताएको छ ।
मगर र आङबाबु राईले त्यस्तो कुनै घटना नभएको, आफूलाई कुनै व्यक्तिबाट धम्की नदिइएको तथा मुद्दा मिलाइदिने भनी रकम समेत नमागिएको भनी बयान गरेका थिए । त्यसपछि राईको नाम तथा हस्ताक्षर प्रयोग गरी उनलाई दुःख र हैरानी दिने बदनियतले मगरले झुठा उजुरी दिएको पुष्टि भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।