काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठमा पाँच घण्टा लामो भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कामकारबाहीदेखि आगामी संसद् अधिवेशन र पार्टीको तयारीसम्मका विषयमा छलफल भएको छ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार प्रधानमन्त्री शाह सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए। भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा भएको उनले बताएका छन्।
आचार्यले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए। आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुवैबीच कुराकानी भएको थियो।
त्यसैगरी, रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियानबारे पनि छलफल भएको आचार्यले बताएका छन्।
भेटमा सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादनका साथै अध्यादेश र संसद्को आगामी अधिवेशनका विषयले पनि स्थान पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।