काठमाडौँ– यामाहा XSR 155 मोटरसाइकल अब नयाँ खरानी–हरियो मेटालिक रङमा पनि उपलब्ध हुने भएको छ। नेपाल–जापान फेस्टिभल २०२६ का अवसरमा एमएडब्लु राइड्सले उक्त नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
दरबारमार्गमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मूल्य यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै बराबर हो।
नयाँ रङ थपिएसँगै XSR 155 अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार नयाँ विकल्पले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्न थप अवसर दिनेछ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजित फेस्टिभलमा यामाहाको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो। कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई देशबीचको लामो मित्रता र सहकार्यको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ तथा नवप्रवर्तनको प्रतिनिधिका रूपमा प्रस्तुत गरे।

सन् १९५५ मा स्थापना भएको यामाहा मोटरले ७१ वर्षको यात्रा पूरा गरेको उल्लेख गर्दै अग्रवालले जापानी प्रविधि र गुणस्तर नेपाली ग्राहकसम्म पुर्याउन एमएडब्लु प्रतिबद्ध रहेको बताए। XSR 155 ले कम्पनीको जापानी विरासतसँगै आधुनिक प्रविधि र कार्यसम्पादनलाई समेटेको उनको भनाइ थियो।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको XSR 155 मा भेरिएबल भल्भ एक्टुएसन (VVA) इन्जिन, डेल्टा बक्स फ्रेम, ६-स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम छन्। यी विशेषताले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको दाबी छ।

फेस्टिभलमा जापानी कोटो संगीत, ताइको ड्रमिङ, क्यालिग्राफी र कस्प्लेसहितका सांस्कृतिक प्रस्तुति पनि राखिएका थिए।
नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्सले देशभर १०५ आउटलेटमार्फत बिक्री, सर्भिस र स्पेयर पार्ट्स सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।