विराटनगर– कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई उक्त प्रदेशको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिएका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधारा (२) बमोजिम कर्णलाई कोशी प्रदेश प्रमुखको अतिरिक्त कार्यभार तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्।
कोशीका तत्कालीन प्रदेश प्रमुख परशुराम खापुङले पाँचवर्षे कार्यकाल पूरा गरी गत २३ कात्तिकमा पद छाडेपछि उक्त पद रिक्त थियो। नयाँ प्रदेश प्रमुख नियुक्त नहुँदा कोशी प्रदेश करिब दुई सातादेखि प्रदेश प्रमुखविहीन बनेको थियो।
संविधानले प्रदेश प्रमुखको पद रिक्त रहेको वा कार्यभार सम्हाल्न नसक्ने अवस्था आएमा अर्को प्रदेशका प्रदेश प्रमुखलाई जिम्मेवारी दिन सक्ने व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार कर्णलाई कोशीको समेत जिम्मेवारी दिइएको हो।
यसअघि पनि कोशी प्रदेश प्रमुखको अनुपस्थितिमा अर्को प्रदेशका प्रमुखलाई अतिरिक्त कार्यभार दिने गरिएको थियो। २०८२ साउनमा खापुङ मलेसिया भ्रमणमा जाँदा तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशीको कार्यभार दिइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।