काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव इन्द्रदेव यादव नियुक्त भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन्।
महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत यादव गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। विभागका तत्कालीन महानिर्देशक निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएपछि रिक्त पदमा यादवलाई जिम्मेवारी दिइएको हो।
विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका यादवसँग सार्वजनिक प्रशासनको अनुभव छ। अब उनले वित्तीय अपराध अनुसन्धानसँग सम्बन्धित संवेदनशील निकायको नेतृत्व गर्नेछन्।
नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्नुपर्ने दबाबका बीच यादवले विभागको जिम्मेवारी पाएका हुन्। सम्पत्ति शुद्धीकरण र आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान प्रभावकारी बनाउनु विभागका लागि प्रमुख चुनौतीका रूपमा रहेको छ।
यसैबीच, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा खटाउने निर्णय गरेका छन्। गत मङ्सिर ४ गतेकै मन्त्रिपरिषद् निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएकी शर्मालाई उक्त जिम्मेवारी दिइएको हो।
महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि शर्मालाई त्यहाँ खटाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।