सुर्खेत– दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
बिहीबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी १७ ओभरमा ११० रनमै समेटियो।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७७ रन बनाएको थियो। उसका कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६ रन जोडे। ३६ बल खेलेका विनोदले एक छक्का र तीन चौका प्रहार गर्दा कुशलले दुई छक्का र चार चौका हिर्काए।
वशिर अहमदले २७ तथा त्रितराज दासले ११ बलमा आक्रामक २४ रन बनाए। राष्ट्रिय टोलीका सदस्य भीम सार्की भने दुई बल खेलेर खाता नखोल्दै आउट भए।
गण्डकीका कप्तान विपिन खत्रीले तीन विकेट लिए। कृष्ण पौडेल र सुदीप अर्यालले दुई-दुई विकेट हात पारे।
जवाफी ब्याटिङमा गण्डकीका ईश्वर क्षेत्रीले सर्वाधिक २६ रन बनाए। उनले १५ बलमा पाँच चौका प्रहार गरे। सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
आर्मीका तिलकराज भण्डारीले तीन ओभरमा १२ रन खर्चेर चार विकेट लिए। दुई विकेट लिएका नरेश साउँद तथा एक विकेट हात पारेका कुशल मल्लले पनि गण्डकीको इनिङ्स समेट्न योगदान दिए। चार विकेट लिएका तिलकराज म्यान अफ द म्याच घोषित भए।
जितसँगै आर्मीले दुई अंक जोडेको छ। पहिलो खेल जितेको कर्णाली प्रदेशको पनि समान दुई अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।