सुर्खेत– दशौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्यो ।
बागमतीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन् ।
खेलको अन्तिमतिर व्याटिङ गर्न आएकी अनु कडायतले महत्वपूर्ण २३ रनको नटआउट पारी खेलिन् । १५ बलको सामना गरेकी अनुले एक चौका र एक छक्काको मद्दतमा २३ रनको योगदान दिइन् । यस्तै कप्तान ऋतु कनौजियाले १४ बलम नटआउट १५ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महराले २२ रनको योगदान दिइन् । सुदूरपश्चिमका ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाए । सुदूरपश्चिमका मनिषा बोहरा र स्नेहा महरा रन आउट भएका थिए ।
बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक एक विकेट लिए । ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पुरा गर्यो ।
बागमतीका लागि ओपनर हेलिषा गुरुङले नटआउट ५५ रनको महत्वपूर्ण पाली खेलिन् । ५१ बलको सामना गरेकी उनले छ चौका प्रहार गरिन् । यस्तै लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० रन बनाइन् । बागमतीकी सेविका कुमारी यादवले तीन रनको योगदान दिइन् ।
सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महताराले एक एक विकेट लिए । बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन् ।
आज हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।