काठमाडौं– रशिद खानले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन । पाकिस्तान ‘ए’ विरुद्धको खेलमा ९६ रनले पराजित भएसँगै नेपाल कतारमा जारी एसिया कप राइजिङ स्टार्स प्रतियोगिताबाट बाहिरिएको छ ।
पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालको ब्याटिङ फेरि एकपटक निकै कमजोर देखियो । यसअघि भारत ‘ए’ विरुद्धको पहिलो खेलमा पनि नेपाल २६ रनमै अलआउट भएको थियो ।
नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । बसिर अहमदले ११ तथा देव खनालले ८ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुशल भुर्तेल १ रनमा आउट भए भने इशान पाण्डे र लोकेश बमले खाता खोल्न सकेनन् । पवन सर्राफ, रशिद खान, नन्दन यादव र कप्तान सन्दीप लामिछाने पनि शून्यमै आउट भए । अभिशेष गौतम १ रनमा अविजित रहे ।
पाकिस्तानका मोहम्मद हसनैन र सुफयान मोकिमले समान ३ तथा मोहम्मद इमरानले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ नेपाली बलरसामु ४२ ओभरमा १६८ रनमै समेटिएको थियो । रशिदले ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिएका थिए । लिस्ट ‘ए’ क्रिकेटमा उनको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
अभिशेष गौतमले २ विकेट लिँदा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।
पाकिस्तानका रोहाइल नाजिरले सर्वाधिक ६४ रन बनाउँदै अविजित रहे । उनले ८३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । हसन नवाजले २८ र अहमद डानियलले १६ रन बनाए ।
प्रतियोगितामा पाकिस्तान ‘ए’ समूह ‘बी’ का तीनवटै खेल जितेर सेमिफाइनल पुगेको छ । भारत ‘ए’ दुई खेल जित्दै समूह उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ ।
नेपालले भने तीन खेलमध्ये एक खेलमा मात्रै जित निकाल्न सक्यो । आइतबार भएको दोस्रो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो । भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्धको कमजोर ब्याटिङ नै नेपालको प्रतियोगिता यात्राको मुख्य निराशा बन्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।