काठमाडौं। साउदी अरबको जजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका एक अधिकारीले प्रारम्भिक जानकारीका आधारमा नेपाली श्रमिकको मृत्यु भएको पुष्टि गरेका हुन्।
ती अधिकारीका अनुसार बिहीबार जजान तेल प्रशोधन केन्द्रमा आकाशबाट प्रहार गरिएको विस्फोटक वस्तु खसेको थियो। त्यसबाट आगलागी हुनुका साथै प्रशोधन केन्द्रका केही काम अस्थायी रूपमा रोकिएका थिए।
आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको मन्त्रालयका अधिकारीले बताएका छन्। घाइतेहरूको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन्।
घटनालगत्तै आपत्कालीन उद्धार टोली र प्राविधिक टोली परिचालन गरिएको थियो। उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी आक्रमणबाट भएको क्षतिको मूल्यांकन तथा प्रशोधन केन्द्रका संरचनाको सुरक्षाबारे जाँच गरिरहेका छन्।
मन्त्रालयका अधिकारीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।