काठमाडौं। इजरायलले गाजापट्टीमा गरेको हवाई तथा स्थल आक्रमणमा कम्तीमा १० प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजाका अस्पताल अधिकारीहरूका अनुसार बिहीबार रातिदेखि बिहीबार दिनभर भएका पाँचवटा आक्रमण र गोली प्रहारका घटनामा उनीहरूको मृत्यु भएको हो।
मध्य गाजाको देर अल-बलाहस्थित एक आवासीय अपार्टमेन्टमा भएको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको अस्पताल अधिकारीहरूले बताएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त विज्ञप्ति जारी गर्दै राति गरिएको आक्रमणमा हमासका तर्फबाट गाजामा आर्थिक तथा शैक्षिक मामिला हेर्ने खालिद अबु नादालाई मारिएको दाबी गरेका छन्।
शिफा अस्पतालका अधिकारीहरूका अनुसार गाजा सिटी र देर अल-बलाहमा भएका अन्य तीन आक्रमणमा सात जनाको मृत्यु भएको छ। त्यस्तै अल-अक्सा मार्टियर्स अस्पतालका अधिकारीहरूले हमास र इजरायलको नियन्त्रण क्षेत्र छुट्याउने पहेँलो रेखानजिक एक पुरुषको मृत्यु भएको बताएका छन्।
गाजा सिटीको पूर्वी क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार बिहीबार साँझ इजरायली सेनाले उक्त क्षेत्र खाली गर्न चेतावनी दिएको थियो। चेतावनी दिएको केही मिनेटमै एउटा भवन र आसपासका घरहरूमा आक्रमण भएको उनीहरूले बताएका छन्।
इजरायली सेनाले एक आक्रमणमा तीन लडाकुलाई लक्षित गरिएको जनाएको छ। तर अन्य आक्रमण, गोली प्रहार र स्थानीयलाई दिइएको चेतावनीबारे प्रतिक्रिया दिन सेनाले तत्काल जवाफ दिएको छैन।
यी पछिल्ला घटनाले इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि गाजामा इजरायली गोली प्रहार र हवाई आक्रमण लगभग दैनिक रूपमा जारी रहेको देखाउँछन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धमा हालसम्म कम्तीमा ७४ हजार ७४६ प्यालेस्टिनीको मृत्यु भइसकेको छ। हमास नेतृत्वको सरकारअन्तर्गत रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने मृत्युको तथ्यांकलाई सामान्यतया विश्वसनीय मानिए पनि त्यसमा सर्वसाधारण र लडाकुको छुट्टाछुट्टै विवरण समावेश गरिएको हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।