काठमाडौं- काठमाडौंमा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सोमबार साँझ जारी गरेको आदेश अनुसार सार्वजनिक यातायात सञ्चालनमा समेत रोक लगाइएको छ। आदेशको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।
विवाह व्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न भनिएको छ।
यस्तै, सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म काठमाडौं जिल्लाभर सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरूवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाइएको छ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने आदेशमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।