काठमाडाैं- नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार असंवैधानिक रहेको ठोकुवा गरेका छन्।
दल विभाजित भए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको आधारमा मुख्यमन्त्रीले संसद्मा विश्वासको मत नलिएकाले प्रदेश सरकार असंवैधानिक भएको उनले दाबी गरे।
एमाले र माओवादी केन्द्र सर्वोच्चको फैसला अनुसार पूर्वअवस्थामा फर्केका थिए। दुई दल विभाजित भइसकेपछि पनि विश्वासको मत नलिएको भन्दै पोखरेलले सोमबार बसेको प्रदेश सभा बैठकमा आपत्ति जनाए।
प्रस्तावित मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जब अल्पमत सरकार पर्छ भने मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ। समर्थन नभएपनि पनि कुर्सिमा बसिरहेको जायज मान्न सकिन्नँ।’
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हठात् प्रदेश संसद् अन्त्य गरिएकोप्रति उनले आक्रोश व्यक्त गरे। ‘सरकार र मुख्यमन्त्रीको नियत त्यो बेला छर्लङ भयो, जतिबेला संसद् अधिवेशन अन्त्य गरियो। केन्द्रमा जसरी प्रतिगमन भयो, प्रदेशमा पनि त्यसरी नै भयो’, पोखरेलले भने।
संसद् फेस गर्न नसकेर मुख्यमन्त्री भागेको आरोप लगाउँदै पोखरेलले सरकारलाई समातेर फेरि संसद्मा ल्याएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।