काठमाडौं– अपराध नियन्त्रणको मुख्य जिम्मेवारी सम्हालेका गृहमन्त्री सुदन गुरुङ नै अभियुक्तसँग सेल्फीमा रमाएको भेटिएको छ।
कानुन पालना गराउने दायित्व बोकेको गृह प्रशासनको कमान्ड सम्हालेका गुरुङसँग एक जना अभियुक्तले सार्वजनिक गरेको फोटो र भिडियोले सुशासनको धज्जी उडाएको छ।
हो, विभिन्न अभियोगमा झापा प्रहरीको ‘फरार’ सूचीमा रहेका अभियुक्त नितेश ओली गोरखामा प्रकट भएका छन्। गृहमन्त्रीसँग बाक्लै उठबस भएको सन्देश दिने गरी उनी प्रकट भएका हुन्।
लामो समयदेखि फरार रहेका उनले गृहमन्त्री गुरुङसँग सेल्फी खिच्न भ्याए। उक्त सेल्फी नितेश ओली (फोटोमा रातो टी–सर्ट लगाएका व्यक्ति) को फेसबुकमा पोस्ट भएको छ। गुरुङसँग छहरामा बसेर भिडियोसमेत खिच्न भ्याएका ओलीले एउटा फोटो गृहमन्त्रीसँग मात्र नभई गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसँग समेत खिचेर पोस्ट गरेका छन्।
गृहमन्त्री वा प्रमुख जिल्ला अधिकारीलाई नितेश फरार अभियुक्त हुन् भन्ने थाहा नभएर हो वा उनीहरूसँग साँठगाँठ भएर हो, कानुनी शासनको धज्जी उडाउने खालको फोटो र भिडियो सार्वजनिक भयो।
गोरखाका प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार नितेशले आफूलाई पत्रकारको परिचय दिएका थिए।
‘झापाको पक्राउ पुर्जी गोरखाको सीडीओलाई थाहा हुने कुरा भएन। अब थाहा भयो,’ मिश्रले नेपाललाइभसँग भने।
मिश्र भन्छन्, ‘कताबाट आयो, थाहा भएन। गृहमन्त्रीज्यू आउनुभएको थियो। सँगसँगै देखियो। के काम गर्नुहुन्छ भन्दा पत्रकार हुँ, खै के डटकम छ भनेर परिचय दिएको थियो,’ उनले भने।
नितेशविरुद्ध दुई पक्राउ पुर्जी
नितेशविरुद्ध दुई वटा पक्राउ पुर्जी जारी भएको छ।
एउटा, सुदिर जंग थापाको जाहेरीले अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दामा जिल्ला प्रशासन कार्यालय सुनसरीको अनुमतिमा सुनसरी प्रहरीले झापा प्रहरी कार्यालयलाई २०८२ मंसिर २१ मा पक्राउका लागि पत्राचार गरेको देखिन्छ। नितेश झापाको हल्दिबारीका हुन्।
उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो।
झापा प्रहरीले अहिलेसम्म नितेशलाई पक्राउ गर्न सकेको छैन।
‘फरार रहेको व्यक्तिलाई पक्राउ गरेर सुनसरी प्रहरीमा कसरी बुझाउनु?’ झापा प्रहरीका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले नेपाललाइभसँग भने।
दोस्रो काण्ड
नितेशसँग जोडिएको दोस्रो काण्ड पनि छ। उनले नेपाल पत्रकार महासंघ झापा शाखालगायत पदाधिकारी र समग्र पत्रकारिताको बदनाम गर्ने गरी निरन्तर सामाजिक सञ्जालमा अफवाह फैलाएपछि झापा प्रहरीमा जाहेरी दर्ता भएको थियो।
२०८३ असार १५ गते सुदिप परियारले झापा प्रहरीमा साइबर अपराधसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका थिए। सोही दिन प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरेको थियो। तर, नितेश ‘फरार’ रहेको भन्दै स्थानीय प्रशासनले उनलाई पक्राउ गर्न चासो दिएको थिएन।
करिब तीन महिनासम्म प्रहरी–प्रशासनले उनलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भएको थियो। निरन्तर सामाजिक सञ्जालमा प्रकट हुने नितेशलाई नभेटिएको भन्दै स्थानीय प्रशासनले उनलाई ‘उन्मुक्ति’ दिएको आशंका झापाका पत्रकारहरूले गरिरहेका थिए।
यहीबीचमा नितेशको गृहमन्त्रीसँगको सेल्फीले कतै उनी राज्यबाट संरक्षित अभियुक्त त होइनन् भन्ने आशंका उत्पन्न भएको छ। झापा प्रहरीले पनि नितेशलाई पक्राउ नगर्ने जुक्ति निकालेको छ।
प्रहरीले अनुसन्धान सकेर नितेशविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।
‘लामो समय फरार रहेकाले पक्राउ गर्न नसकिएपछि अनुसन्धान सकेर फाइल अदालतमा बुझाइसकेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अधिकारीले भने, ‘साइबर क्राइमसम्बन्धी मुद्दामा अदालतबाट जे आदेश आउँछ, सोहीबमोजिम गर्छौं।’
यस्तो थियो पत्रकारको माग
एक महिनासम्म नितेशलाई पक्राउ नगरिएपछि पत्रकार महासंघ झापाले २०८३ साउन १८ गते विज्ञप्ति जारी गरेर पक्राउ गर्न माग गरेको थियो। सो विज्ञप्तिमा यस्तो माग राखिएको थियोः
विभिन्न अपराधमा संलग्न भई हाल फरार रहेका झापाको हल्दिबारी गाउँपालिका–१ बस्ने नवराज ओली (नितेश) ले नेपाल पत्रकार महासंघ झापा शाखा तथा संस्थाका अध्यक्ष र पदाधिकारीहरूलाई लक्षित गर्दै केही समययता सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सामग्री सम्प्रेषण गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
पत्रकारिता पेसासँग आबद्ध नरहेका निज ओलीले यसअघि पत्रकार हुँ भन्दै विभिन्न सञ्चारमाध्यमको नाम लिएर उद्योगी–व्यवसायीहरूलाई रकम माग्दै विकृति मच्चाएको विषयमा महासंघ झापा र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। त्यस विषयमा महासंघ झापाले विज्ञप्तिमार्फत निज ओलीलाई सचेत गराएको थियो। त्यसपछि निज ओलीले लगातारजस्तो महासंघ झापा तथा पदाधिकारीहरूविरुद्ध तथ्यहीन, भ्रामक, कपोलकल्पित विषय उठाएर मानमर्दन गर्दै आएका छन्। यस विषयमा महासंघ झापाले मिति २०८३ असार १५ गते साइबर अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता गरी जिल्ला अदालतबाट निज ओलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिले पत्रकारिता पेसाप्रति घृणा फैलाउने, अफवाह फैलाउने तथा पत्रकार महासंघ र पदाधिकारीहरूकै चरित्रहत्या गरिरहेको कसुरमा फरार रहेका निज ओलीलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसक्नुले प्रहरीको कार्यक्षमतामाथि नै प्रश्न खडा गरेको छ। फरार रहेका भनिएका व्यक्तिको ह्वाट्सएप, म्यासेन्जर, फेसबुक २४ सै घण्टा चलिरहेको देखिन्छ। त्यही माध्यमबाट निजले निरन्तर महासंघ तथा पदाधिकारीहरूको चरित्रहत्या हुने सामग्री सम्प्रेषण गरिरहेका छन्। यस विषयमा महासंघ झापाले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीको पटक–पटक ध्यानाकर्षण गराइसकेको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भएका निज ओलीले कानुनलाई खुला चुनौती दिँदै सामाजिक सञ्जालमार्फत महासंघका पदाधिकारीमाथि निरन्तर गालीगलौज, चरित्रहत्या, आधारहीन आरोप, अफवाह फैलाउने र धम्की दिने जस्ता कार्य गरिरहनु अत्यन्त गम्भीर विषय हो। विभिन्न माध्यमबाट ज्यान लिने धम्की दिइनुले पनि सुरक्षा चुनौती थपिएको छ। यस्तो गतिविधि भइरहँदा पनि प्रहरी–प्रशासनले अपराधमा संलग्न ओलीलाई कानुनी दायरामा ल्याउन नसक्नु चिन्ताको विषय हो।
महासंघ यस्ता हर्कतको घोर निन्दा गर्दै आपराधिक कार्यमा संलग्न निज ओलीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न तथा निजका सामाजिक सञ्जालहरू नियन्त्रण गर्न सरकारसमक्ष जोडदार माग गर्दछ।
झापा शाखाको विज्ञप्तिपछि महासंघको कोशी प्रदेश समिति र केन्द्रीय समितिबाट पनि यही प्रकृतिको विज्ञप्ति जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।