काठमाडौं– २०८५ सालको तिहार यस वर्षको जस्तो हुने छैन। यस वर्ष कात्तिक २२ गते लक्ष्मी पूजा गरेपछि २५ गते बुधबार भाइटीका लगाइँदै छ।
२०८५ सालमा भने लक्ष्मी पूजा गरेको एक महिनापछि मात्रै भाइटीका लगाउनुपर्ने अवस्था आउने भएको छ।
२०८५ साल कात्तिक १ गते लक्ष्मी पूजा परेको छ। त्यसलगत्तै कात्तिक २ गतेदेखि एक महिना मलमास पर्ने पञ्चाङ्ग सार्वजनिक भएको छ। मंसिर १ गते मात्रै गोवर्धन पूजा गर्न मिल्नेछ भने सार्वजनिक पञ्चाङ्गअनुसार मंसिर २ गते भाइटीका परेको छ।
‘कात्तिक पुरुषोत्तम महिना पर्नाले यस्तो भएको हो,’ ज्योतिष कृष्णहरि खनालले आइतबार नेपाललाइभसँग भने।
यद्यपि, २०८५ मंसिर २ गते नै भाइटीका लगाउने विषयमा पनि विवाद देखिएको छ।
खनालले आफ्नो पञ्चाङ्गअनुसार मंसिर २ गते प्रतिपदा तिथि रहेकाले ३ गते मात्रै भाइटीका पर्ने दाबी गरे।
‘मैले आफ्नो पञ्चाङ्ग प्रयोग गरेर हेर्दा मंसिर २ गते साँझ ५ बजेर ४६ मिनेटसम्म प्रतिपदा तिथि रहेछ। यो हिसाबले भाइटीका २०८५ मंसिर ३ गते पर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।