काठमाडौं– सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नगरपालिकाबाट सञ्चालित सडक निर्माण योजनाको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा उनले सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट खुलेको दाबीसहित आयोगले शुक्रबार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा एक लाख रुपैयाँ गरी कुल एक लाख ५० हजार रुपैयाँ लिएको पाइएकोले
रकमलाई भ्रष्टाचारजन्य कसुर ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कारबाहीको माग गरेको छ।
एक लाख ५० हजार रुपैयाँ बिगो असुल गर्नका साथै कानुनअनुसार कैद सजायसमेत हुनुपर्ने मागदाबी आयोगले आरोपपत्रमार्फत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।