काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक चयन गर्ने प्रक्रिया अघि बढेसँगै चार प्रतिस्पर्धी मुलुकबीच कूटनीतिक सक्रियता बढेको छ। निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउन नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकाले सदस्य राष्ट्रहरूसँग संवाद तीव्र बनाएका छन्। यसक्रममा निर्वाचनमा महत्त्वपूर्ण मानिने बंगलादेशको समर्थन प्राप्त गर्न भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा देखिएको छ भने नेपालले टिमोर–लेस्टेसँग कूटनीतिक संवाद अघि बढाएको छ।
बंगलादेशको समर्थन प्राप्त गर्ने प्रयासमा भुटानले पछिल्लो समय उच्चस्तरीय पहल गरेको छ। बंगलादेशको परराष्ट्र मन्त्रालयका अनुसार भुटानका पूर्वप्रधानमन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री साङ्गे न्गेदुपले नोभेम्बर २२ मा ढाकास्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरसँग भेटवार्ता गरेका थिए।
भुटानका तर्फबाट क्षेत्रीय निर्देशक पदका उम्मेदवार रहेका न्गेदुपले भेटमा आफ्नो उम्मेदवारी र दक्षिण–पूर्वी एसियाका सदस्य राष्ट्रबीच जनस्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। बंगलादेशको परराष्ट्र मन्त्रालयले नोभेम्बर २५ मा सार्वजनिक गरेको विज्ञप्तिमा उक्त भेटको पुष्टि गरिएको छ।
यो भेटलाई क्षेत्रीय निर्देशक निर्वाचनमा बंगलादेशको समर्थन प्राप्त गर्ने भुटानको प्रयासका रूपमा हेरिएको छ। किनकि बंगलादेशले यसअघि नै माल्दिभ्सका उम्मेदवारलाई समर्थन गर्ने सम्भावनाबारे सकारात्मक संकेत दिएको थियो।
बंगलादेशका परराष्ट्र राज्यमन्त्री कबिरले सेप्टेम्बर १३ मा पत्रकारहरूसँग कुरा गर्दै माल्दिभ्सका उम्मेदवारको राम्रो कार्यसम्पादन र योग्यता रहेको भन्दै उनको उम्मेदवारीलाई समर्थन गर्न सकिने बताएका थिए। तर, भुटानका पूर्वप्रधानमन्त्री न्गेदुपसँगको पछिल्लो भेटपछि बंगलादेशको समर्थन कसलाई रहने भन्ने विषय थप चासोको बनेको छ।
माल्दिभ्सले भने नोभेम्बर १८ मा पूर्वस्वास्थ्यमन्त्री डा. अहमद जमशीद मोहम्मदलाई आफ्नो आधिकारिक उम्मेदवार घोषणा गरेको छ। उनी तीन दशकभन्दा बढी समयदेखि स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा सक्रिय छन्। उनी सन् २०२४ नोभेम्बरदेखि बंगलादेशका लागि डब्लुएचओ प्रतिनिधिका रूपमा कार्यरत छन्। यसअघि उनले डब्लुएचओको उत्तर कोरिया प्रतिनिधि, बंगलादेशका उपप्रतिनिधि र सेरोका क्षेत्रीय सल्लाहकारका रूपमा काम गरेका थिए।
नेपालको कूटनीतिक पहल : टिमोर–लेस्टेसँग समर्थनको संवाद
उता, नेपालले पनि आफ्नो उम्मेदवार डा. संगीता कौशल मिश्राको पक्षमा समर्थन जुटाउन कूटनीतिक पहल अघि बढाएको छ।
नयाँ दिल्लीस्थित टिमोर–लेस्टेको दूतावासको आधिकारिक फेसबुक पेजमा सार्वजनिक विवरणअनुसार डा. मिश्राले अक्टोबर २८ मा टिमोर–लेस्टेका राजदूत कार्लितो नुनेस र प्रथम सचिव औरेलियो बारोससँग भेटवार्ता गरेकी थिइन्।
भेटमा उनले डब्लुएचओ सेरोको सदस्य राष्ट्रका लागि महत्त्व, क्षेत्रीय स्वास्थ्य प्रणालीमा संगठनको भूमिका र आफू निर्वाचित भएमा अघि बढाउने दृष्टिकोण तथा कार्ययोजना प्रस्तुत गरेकी थिइन्।
जवाफमा राजदूत नुनेसले स्वास्थ्य क्षेत्रमा डा. मिश्राले देखाएको नेतृत्व र लामो अनुभवको प्रशंसा गर्दै उनको उम्मेदवारीप्रति चासो व्यक्त गरेका थिए। यद्यपि, उक्त भेटमा टिमोर–लेस्टेले नेपालको पक्षमा समर्थन गर्ने औपचारिक प्रतिबद्धता जनाएको विवरण सार्वजनिक भएको छैन।
नेपालले अघि सारेकी डा. मिश्रा स्वास्थ्य प्रशासन, जनस्वास्थ्य र चिकित्सकीय सेवाको अनुभव भएकी अधिकारी हुन्। उनले भारतबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रसूति तथा स्त्रीरोगमा विशेषज्ञता र अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी छन्।
उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कोशी अस्पतालको नेतृत्वसमेत सम्हालिसकेकी छन्।
कसरी चयन हुन्छन् क्षेत्रीय निर्देशक?
डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयमा ११ सदस्य राष्ट्र छन्। क्षेत्रीय निर्देशक चयन प्रक्रियामा यी सदस्य राष्ट्रका प्रतिनिधिहरूको भूमिका निर्णायक हुन्छ।
यसपटकको निर्वाचन प्रक्रियामा पारदर्शिता र उम्मेदवारको योग्यता मूल्याङ्कनलाई थप व्यवस्थित बनाउन डब्लुएचओले नयाँ व्यवस्था पनि गरेको छ। क्षेत्रीय समितिले प्रत्येक सदस्य राष्ट्रबाट एक जना स्वतन्त्र विज्ञ समेटेर क्षेत्रीय मूल्याङ्कन समूह गठन गर्ने निर्णय गरेको छ। उक्त समूहले उम्मेदवारहरूको योग्यता र उपयुक्तताको मूल्याङ्कन गर्नेछ।
उम्मेदवारहरूले आफ्नो अनुभव, विशेषज्ञता, क्षेत्रीय स्वास्थ्य प्राथमिकता र नेतृत्वको दृष्टिकोण प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्। यसका लागि उम्मेदवार मञ्च (क्यान्डिडेट्स फोरम) को व्यवस्था गरिएको छ। यसले सदस्य राष्ट्रहरूलाई उम्मेदवारको कार्ययोजना र नेतृत्व क्षमताबारे प्रश्न गर्ने अवसर दिनेछ।
उम्मेदवारहरूको अन्तिम चयन भने क्षेत्रीय समितिको बन्द बैठकमा गोप्य मतदानबाट हुनेछ। आवश्यक बहुमत प्राप्त गर्ने उम्मेदवारलाई क्षेत्रीय निर्देशकका लागि मनोनयन गरिनेछ। क्षेत्रीय समितिको सिफारिसपछि डब्लुएचओको कार्यकारी बोर्डले औपचारिक नियुक्ति गर्नेछ।
डब्लुएचओको आधिकारिक कार्यतालिकाअनुसार आगामी जनवरी २३, २०२७ मा स्विट्जरल्यान्डको जेनेभास्थित मुख्यालयमा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। त्यसबाट क्षेत्रीय निर्देशकको मनोनयन हुनेछ। जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने कार्यकारी बोर्डको १६०औँ सत्रले नियुक्ति प्रक्रिया पूरा गर्नेछ।
नेपालको चौथो प्रयास
डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा नेपालले यसअघि तीनपटक उम्मेदवारी दिए पनि सफलता प्राप्त गर्न सकेको छैन। सन् १९९३ मा डा. मृगेन्द्रराज पाण्डे, सन् २००३ मा डा. रीता थापा र सन् २०२३ मा डा. शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाएको थियो।
यसपटक डा. मिश्रालाई अघि सारेर नेपालले चौथोपटक क्षेत्रीय नेतृत्वमा पुग्ने प्रयास गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।