काठमाडौँ, - अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अनियमितता विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सहजीकरणको बाहनामा शङ्कास्पद क्रियाकलाप गरेको आरोपमा हिमालयन एयरलाइन्सका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ। कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी गराएको हो।
विज्ञप्तिमा उल्लेख भए अनुसार, गत असोज २६ गते सोमबार वैदेशिक रोजगारीमा जाने क्रममा श्रमको म्याद समाप्त भएकाले पुनः श्रम स्वीकृति गरेबापत बढी रकम असुल गरिएको भन्दै कार्यालयमा फोनमार्फत गुनासो प्राप्त भएको थियो। सोही गुनासोको आधारमा प्रारम्भिक छानबिन गर्दा हिमालयन एयरलाइन्सका कर्मचारी श्री हंशराज जैशीको मोबाइल नम्बरको इसेवामा इसेवा रेफरेन्स नम्बर ३२४४८४०४४ मार्फत रू. १४,००० (चौध हजार रूपैयाँ) ट्रान्जेक्सन भएको पाइएको छ।
साथै, कार्यालयको सिसीटिभी फुटेज समेतको आधारमा यात्रुलाई सहजीकरण गर्ने बाहनामा शङ्कास्पद क्रियाकलाप गरेको देखिएकाले निज जैशीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रि.अ.वि. सुरक्षा कार्यालयको जिम्मा लगाइएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन सम्बन्धी काम कारबाहीलाई प्रभावकारी, स्वच्छ बनाउन तथा अनियमितता रोक्न विभागले यस्ता उजुरीहरूको तत्काल छानबिन गरी आवश्यक कारबाही गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।