



काठमाडौँ – नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।
आइतबार दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताः रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेउ’ भन्ने नारासहित प्रहरी घेराबीच पत्रकारहरुले रास्वपा केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पु-याउनेमाथि कारबाही नभएको, सरकारी तथा निजी संञ्चारमाध्यमबाट पत्रकालाइ जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उलंघन भएको र लोक कल्याणकारी विज्ञापनवापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिस अनुसार उपलब्ध नगराइएको भन्दै महासंघ आन्दोलित भएको हो ।
धर्नालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष निर्मला शर्माले सरकारले नसुनेकाले सत्ताधारी दललाई प्रेसका समस्या सुनाउन आएको बताइन् ।
सरकारलाई थप दबाब दिन तथा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई मागमा सहमत गराउन दोस्रो चरणको आन्दोलन थाएिको उनको भनाई थियो ।
दोस्रो चरणको घोषित कार्यक्रमअनुसार १४ मंसिरमा कांग्रेसको कार्यालय, १५ मंसिरमा एमाले, १६ मंसिरमा नेकपा, १७ मंसिरमा श्रम संस्कृति पार्टी र १८ मंसिरमा राप्रपाको कार्यालयमा धर्ना दिने कार्यक्रम छ । यसैगरी, २० मंसिरमा काठमाडौँको माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने महासघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।