काठमाडौं– प्रहरीले काठमाडौँबाट आठ किलो ३२० ग्राम गाँजा र करिब १०० ग्राम पोल्यान्ड जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका-८ घर भई काठमाडौँको कोटेश्वर बस्ने २७ वर्षीय रक्की अधिकारी छन् ।
काठमाडौँ महानगरपालिका-८ तिलगंगास्थित आँखा अस्पतालको पार्किङ नजिक शुक्रबार अपराह्न ४ बजेर १० मिनेटमा साइकलमा झोला बोकेर हिँडिरहेका अधिकारीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।
जाँचका क्रममा उनको साथबाट एक किलो गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । थप सोधपुछका क्रममा उनको कोठामा समेत गाँजा रहेको खुलेपछि प्रहरीले कोठामा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा सात किलो ३२० ग्राम गाँजा र चार पोकामा रहेको करिब १०० ग्राम पोल्यान्ड जस्तो देखिने पदार्थ बरामद भएको हो ।प्रहरीले एक थान सामसङ मोबाइल, एक थान साइकल र पाँच हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
पक्राउ परेका अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।