एजेन्सी- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विपक्षी नेता गादी आइजनकोटलाई आलोपालो राष्ट्रिय एकताको सरकारको पहिलो प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेतन्याहूले राष्ट्रिय नेतृत्वप्रतिको जिम्मेवारीले आफूलाई सबैभन्दा ठूलो दलको नेतृत्व गर्ने सिद्धान्तसमेत त्याग्न बाध्य बनाएको बताएका हुन्। उनले नयाँ सरकारमा सुरुमा आफू वैकल्पिक प्रधानमन्त्रीका रूपमा रहने प्रस्ताव गरेका छन्।
यस महिनाको सुरुवातमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले २८ दिनभित्र सरकार गठन गर्ने जिम्मेवारी आइजनकोटलाई दिएका थिए। त्यसलगत्तै आइजनकोटले नेतन्याहूलाई छिटो र सार्थक वार्ता अघि बढाउन आग्रह गरेका थिए।
नेतन्याहूको पछिल्लो प्रस्ताव आइजनकोटले शुक्रबार उनको दक्षिणपन्थी लिकुड पार्टीमाथि डिसेम्बर ६ को समयसीमा नजिकिँदै गर्दा गठबन्धन वार्ता अवरुद्ध पारेको आरोप लगाएपछि आएको हो।
अक्टोबरमा भएको निर्वाचनमा आइजनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीसहित चार विपक्षी दलले ४८ सिट जितेका थिए। नेतन्याहू नेतृत्वको समूहले भने ५३ सिट प्राप्त गरेको थियो।
१२० सदस्यीय इजरायली संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट कुनै पनि पक्षले प्राप्त गर्न नसकेपछि राष्ट्रिय एकताको सरकार गठनको प्रयास अघि बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।