काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड आज (मङ्सिर १३ गते)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न सडक बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ।
पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर काम अघि बढाएको छ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि यसको रोकथामका लागि विभिन्न प्रविधि प्रयोग गर्न लागिएको हो।
सडक डिभिजन कार्यालयका अनुसार पहिरो रोकथामका लागि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ।
त्यसैगरी, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) समेत प्रयोग गरिनेछ।
सडक बन्द रहने समयलाई ध्यानमा राखेर यात्रु तथा सवारी चालकलाई आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।